काठमाडौं, विभिन्न सरकारी कार्यालयदेखि बैंकहरुका कागजात नक्कली बनाउने गरेको आरोपमा एक जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा झापाको धरमपुर घर भएका ५२ वर्षीय सफराज खड्का छन्। उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले ३१ असारमा महाराजगञ्जबाट पक्राउ गरेको हो।
पक्राउ परेका खड्कामाथि लिखतसम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ। उनले विभिन्न सरकारी कार्यालयहरु, अदालत, शैक्षिक संस्था, बैंक तथा वित्तिय संस्थाका कागजातहरु नक्कली बनाउने गरेको पाइएको सीआईबीका प्रवक्ता युवराज अड्डाले बताए।
उनीबाट टियुदेखि सीटीइभीटी, एचएसईबी, एनईबीको होलोग्राम समेत बरामद भएको छ। बैंकहरुका रबर स्ट्याम्प शैक्षिक संस्थाको प्रमाणपत्रहरु पनि बरामद भएका छन्। विगत दुई वर्षदेखि उनले नक्कली कागजात बनाउने गरेको पाइएको प्रवक्ता खड्काले बताए। प्रहरी, नापी, वडा, कर कार्यालयदेखि राजनैतिक दलका कागजात समेत उनले नक्कली बनाउने गरेको पाइएको छ।