जाजरकोट भूकम्पमा मृत्यु हुनेको संख्या १५७ नाघ्यो, १९० बढी घाइतेको उपचार हुँदै

HTV Khabar १८ कार्तिक २०८०, शनिबार ०६:५२ मा प्रकाशित

काठमाडौं, जाजरकोट केन्द्रविन्दु बनाएर गएराती गएको भूकम्पमा परि मृत्यु हुनेको संख्या १५७ पुगेको छ। यस्तै गम्भीर तथा मध्यम खालका घाइतेको संख्या १०५ रहेको छ। सामान्य घाइतेहरु भने स्थानीय स्वास्थ्य संस्थामा उपचार गरि डिस्चार्ज भएका छन्।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जाजरकोटमा १०५ र रुकुम पश्चिममा ५२ गरी कुल १५७ जनाको मृत्यु भएको बताए। यस्तै जाजरकोटका १०५ जना र रुकुम पश्चिमका ८५ जना गरी कुल १९० जना गम्भीर तथा मध्यम अवस्थाका घाइतेहरुको जिल्ला, प्रादेशिक र संघीय अस्पतालहरुमा उपचार भइरहेको बताए।

‘धेरै जसो जाजरकोट अस्पतालमा उपचार भइरहेको छ, त्यसपछि प्रादेशिक अस्पताल सुर्खे, भेरी अस्पताल नेपालगञ्ज र केही घाइतेहरुको त्रिवि शिक्षण अस्पतालमा पनि उपचार सुरु भएको छ,’ डा. बुढाथोकीले भने।

उनले प्रभावित क्षेत्रमै उपचार प्रभावकारी बनाउन संघीय तथा प्रादेशिक स्तरबाट चिकित्सक, स्वास्थ्यकर्मी तथा औषधिहरु पठाइएको समेत जानकारी दिए।

गएराती ११:४७ बजे जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर ६.४ रेक्टरस्केलको भूकम्प जाँदा जाजरकोट र रुकुम पश्चिममा ठूलो जनधनको क्षति भएको छ।