टिपरको ठक्करबाट सीताको मृत्यु भएपछि उर्लाबारी तनावग्रस्त, सुरक्षाकर्मी परिचालन

HTV Khabar १९ असार २०८१, मङ्गलबार ११:१३ मा प्रकाशित

विराटनगर,  उर्लाबारीमा टिपरको ठक्करबाट एक जना महिलाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार उर्लाबारी नगरपालिका– ६ गोपाल चोककी सीता बोहराको मृत्यु भएको हो।

सीताका छोरा प्रशान्त भने गम्भीर घाइते भएका छन्। ८ वर्षका प्रशान्तको मदन भण्डारी ट्रमा सेन्टर उर्लाबारीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रदेश ०३ –००१ क १०९० नम्बरको टिपरले प्रदेश १–०१०१४ प ६८३३ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो।​ टिपरको ठक्करबाट सीताको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनापछि मृतकका आफन्त र स्थानीयले उर्लाबारीमा प्रदर्शन गरिरहेको छन्।

ठूलो संख्यामा रहेका प्रदर्शनकारीहरूले सडकमा टायर बालेर नाराबाजी गर्दै प्रहरी कार्यालयलाई लक्षित गरी ढुंगामुडा गरिरहेका छन्। टिपर आतंक बन्द हुनुपर्ने, दुर्घटनामा संलग्नलाई कारबाही गर्नुपर्ने र मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग राखेर स्थानीय आन्दोलित भएका छन्।

स्थितिलाई नियन्त्रणमा लिन ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।