यूएईका उपप्रधान तथा परराष्ट्रमन्त्री काठमाडौंमा

HTV Khabar १० वैशाख २०८२, बुधवार ०७:४४ मा प्रकाशित

काठमाडौं, संयुक्त अरब इमिरेट्स (यूएई)का उपप्रधान तथा परराष्ट्रमन्त्री शेख अब्दुल्लाह बिन जायेद अल नाहयान दुईदिने भ्रमणका क्रममा मङ्गलवार राति काठमाडौं आएका छन्।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिंदा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई लगायतले स्वागत गरेका थिए। उच्चस्तरीय भेटवार्तापछि उनी आजै अपराह्न काठमाडौंबाट फर्किने कार्यक्रम छ।

उपप्रधानमन्त्री नाहयानको प्रतिनिधिमण्डलमा यूएईका परराष्ट्र राज्यमन्त्री अहमद अली मोहम्मद अल सायेघ, आर्थिक तथा व्यापार मामिला सहायकमन्त्री सईद मुबारक राशिद अलहजेरी, ऊर्जा तथा दिगोपन मामिला सहायकमन्त्री अब्दुल्ला बलाला, नेपालका लागि युएईका राजदूत अब्दुल्ला जरवान अलशाम्सी र युएई सरकारका अन्य वरिष्ठ अधिकारीहरू छन्।

भेटवार्ताको तयारी
उपप्रधानमन्त्री नाहयानले बुधबार प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री आरजु राणा देउवा र उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहलाई भेट्ने कार्यक्रम छ। भेटमा पारस्परिक सम्वन्ध, लगानी लगायतका विषयमा छलफल हुने बताइएको छ।

सो अवसरमा नेपालले यूएईलाई नेपालको जलविद्युत तथा पर्यटन क्षेत्रमा लगानी गर्न आग्रह गर्ने र यूएईबाट फर्किएका श्रमिकको पुनःस्थापना तथा घरेलु श्रमिकका रुपमा नेपाली महिला लैजाने विषयमा छलफल गर्ने तयारी रहेको स्रोतले बतायो।