न्यूरोडको सुन पसलमा छापा : झण्डै ८ किलो सुन बरामद

HTV Khabar २० मंगशिर २०८०, बुधवार ०१:१७ मा प्रकाशित
काठमाडौं, न्यूरोडको सुन पसलमा छापा मारेर प्रहरीले झण्डै ८ किलो सुन बरामद गरेको छ।

उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरको टोलीले मंगलबार राति ७ किलो ८ सय ग्राम सुनसहित ‘ओमपाल गोल्ड शप’ का सञ्चालक पदमप्रसाद पाण्डेलाई पक्राउ गरेको एसएसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिएका छन्।

पाण्डेले तस्करीको सुन गालेर गहना बनाएर बेच्ने गरेको सूचना प्रहरीले पाएको थियो। त्यसको आधारमा पुगेको प्रहरी टोलीले छापा मारेर सुन बरामद गरेको हो। केही सुन ढिक्कामा छन् भने केही गहना समेत प्रहरीले बरामद गरेको बताइएको छ।

कार्यालयका एसपी रवीन्द्र रेग्मीले सुन कहाँबाट ल्याइएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको बताए। यसअघि प्रहरीले ३ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार जाँच पार गरेर बाहिरिएको ६० किलो सुन बरामद गरेको थियो।त्यसअघि विद्युतीय सिगरेट (भेप) मा लुकाएर समेत ९ किलो सुन तस्करी भएको थियो।

यी तस्करी प्रकरणहरुबारे छानबिन गर्न सरकारले उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराज आचार्यको नेतृत्वमा उच्चस्तरीय छानबिन समिति पनि बनाएको छ। समितिले अहिले यसअघिका सुन प्रकरणमा मुछिएकाहरुलाई कारागारबाट झिकाएर बयान लिइरहेको छ।