काठमाडौं, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चीनकाे थियानजिनमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग अनौपचारिक भेट गरेका छन्।
चीनका राष्ट्रपति सी चिनफिङ र उहाँकी धर्मपत्नी पेङ लियुआनद्वारा शाङ्घाई सहयोग सङ्गठन (एससीओ) प्लस को शिखर सम्मेलनमा सहभागी मुलुकका लागि आयोजित स्वागत समारोहमा उहाँहरूबीच अनौपचारिक कुराकानी भएको हो।
चीनको थियानजिन मेइजियान सम्मेलन केन्द्रमा आयोजित सांस्कृतिक प्रस्तुतिसहितको रात्रिभोजमा प्रधानमन्त्री ओलीसँग भएको अनौपचारिक भेटको तस्बिर समकक्षी मोदीले आफ्नो सामाजिक सञ्जाल एक्समा सार्वजनिक गरेका छन्। उनले थियानजिनमा नेपालका प्रधानमन्त्री ओलीलाई भेट्न पाउँदा खुसी लागेको बताए।
भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री ओलीसँगको भेटलाई विशेष अवसरका रूपमा लिँदै सामाजिक सञ्जालमा लेखेका छन्, “भारत र नेपालको सम्बन्ध गहिरो, ऐतिहासिक र विशेष छ, यसले दुई देशका जनताबीच नजिकको आत्मीयता झल्काउँछ।” थियानजिनमा भएको उक्त भेटलाई दुई देशबीचको मित्रता र सहकार्यका लागि सकारात्मक कदमका रूपमा लिइएको छ।