बाढीमा फसेकाको उद्धारमा खटिएका असईको शव त्रिशुली नदीमा फेला

HTV Khabar २६ असार २०८२, बुधवार १०:३३ मा प्रकाशित

काठमाडौं,  चितवनको १५ किलोमा एक प्रहरीको शव फेला परेको छ। भरतपुर महानगरपालिका–२९ स्थित १५ किलोमा त्रिशुली नदीमा तैरिरहेको अवस्थामा शव मंगलवार फेला परेको हो। फेला परेको शव प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठको भएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक रविन्द्र खनालका अनुसार मृतक श्रेष्ठ रामेछाप तामाकोशी गाउँपालिका–४ स्थायी निवासी हुन्। उनी हाल रसुवाको प्रहरी चौकी हाकुमा दरबन्दी भई इलाका प्रहरी कार्यालय टिमुरेमा कार्यरत थिए। असार २४ गते बिहान रसुवा स्थित भोटेकोशीमा आएको बाढीमा फसेका व्यक्तिको उद्धारका लागि खटिएको अवस्थामा बेपत्ता भएका थिए।

उनको शव चितवन स्थित त्रिशुली नदीमा तैरिएको अवस्थामा फेला परेको थियो। शवको दाहिने खुटाको घुँडादेखि तलको भाग छैन भने भने बायाँ खुट्टामा बुट लगाएको अवस्थामा फेला परेको प्रहरी नायव उपरीक्षक खनालले बताए।