आजदेखि विश्वकप क्रिकेट शुरू हुँदै, १० राष्ट्र प्रतिस्पर्धामा

HTV Khabar १८ अशोज २०८०, बिहीबार ०४:३५ मा प्रकाशित

काठमाडौं, विश्वकप क्रिकेटको आज उदघाटन खेल हुँदैछ।

आईसीसी एकदिवसीय विश्वकपको १३औं संस्करण बिहीबारदेखि भारतमा सुरु हुन लागेको हो।

आजदेखि शुरू हुने क्रिकेट विश्वकप प्रतियोगिताको पहिलो खेल इङल्याण्ड र न्युजील्याण्डबीच प्रतिस्पर्धा हुँदैछ। इङ्ल्यान्ड साविक विजेता टोली हो भने न्युजील्याण्ड उपविजेता टोली हो।

सो प्रतियोगिताको पहिलो उदघाटन खेल नरेन्द्र मोदी रंगशालामा हुनेछ, जुन मैदान विश्वकै सबैभन्दा ठूलो क्रिकेट रंगशालाको रुपमा लिइन्छ। सो उदघाटन खेल नेपाली समयअनुसार दिउँसो २ः१५ बजेदेखि शुरू हुनेछ।

यस प्रतियोगिताको संस्करणमा १० देशको सहभागिता रहने छ। जसअनुसार यसपटक आयोजक भारतसँगै इङ्ल्यान्ड, न्युजिल्यान्ड, अस्ट्रेलिया, पाकिस्तान, अफगानिस्तान, बंगलादेश, श्रीलंका, दक्षिण अफ्रिका र नेदरल्यान्ड्स मैदानमा उत्रिदै छन्।

नेदरल्याण्ड विश्वकपको यस संस्करणमा एकमात्र एसोसिएट राष्ट्र हो।