काठमाडौं, धनुषामा पेस्तोलसहित दुईजना पक्राउ परेका छन्। शनिवार धनौजी गाउँपालिका–४ भडरिया क्षेत्रबाट सशस्त्र प्रहरीले भारत र नेपालका दुई व्यक्तिलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा भारतको मधुवनी जिल्लाको सिलानाथ बरही ग्राम पंचायत–५ बस्ने २१ वर्षीय रुपेशकुमार यादव र धनुषा क्षिरेश्वरनाथ नगरपालिका–८ सीतानगरका २४ वर्षीय तेजेशकुमार महतो छन्।
उनीहरूलाई सशस्त्र प्रहरी निरीक्षक रविन्द्र दाहाल नेतृत्वको टोलीले पक्राउ गरेको बताइएको छ। बीओपी धनौजीको टोलीले बिआर ३२ एडब्लू १८११ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा महतोको साथबाट ९ एमएम बाउनिङ पेस्तोल बरामद गरेको जनाएको छ।
उनीहरुको सथाबाट एक थान म्यागजिन र पेस्तोलमा प्रयोग हुने एक राउण्ड गोली पनि बरामद भएको छ। पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको छ।