काठमाडौं, बूढानीलकण्ठ नगरपालिकाले “तेस्रो वृत्ति मार्गनिर्देशन तथा रोजगार मेला २०८०” आयोजना गर्नलागेको छ। जसको आज ८:०० बजे उद्घाटन हुनलागेको छ।
बूढानीलकण्ठ नगर कार्यपालिका परिसरमा आयोजना हुने “तेस्रो वृत्ति मार्ग-निर्देशन तथा रोजगार मेला २०८०” को नगर शिक्षा महाशाखा प्रमुख ललित विक्रम सिंहले पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएका हुन्।
उक्त मेलामा बेरोजगार युवा, गृहीणी महिला तथा एस.ई.ई. र +२ दिएर बसेका विद्यार्थीहरुलाई आवश्यक तालिम र परामर्श प्रदान गर्दै रोजगारीमा स्थानन्तरण गर्ने उद्देश्यका साथ मेला आयोजना हुन लागेको हो।
यस मेलामा ३ किसिमका तीन प्रकारका मानिसको सहभागिता रहने शिक्षा महाशाखा प्रमुख सिंहले बताएका छन्। जसमा, “बेरोजगार व्यक्ति, युवा र गृहीणी महिला”, “क्षमता विकास तथा सिपमुलक तालिम दिने संस्था” र “रोजगारदाता संघ-संस्था तथा कम्पनी”।रहनेछन्।
बूढानीलकण्ठ नगरपालिकामा हाल २०४ जना सुचीकृत बेरोजगारहरु रहेको र सुचिकृत भएका तथा नभएका दक्ष तथा बेरोजगार युवाहरूलाई रोजगारदातासँग प्रत्यक्ष सम्पर्क गराउने र सीप नभएकालाई आवश्यक तालिम तथा परामर्श प्रदान गर्ने मेलाको उद्देश्य पनि सिंहले बताए।
मेलामा नगरभित्र रहेका बेरोजगार व्यक्तिहरुलाई वृत्ति विकास सम्बन्धी आवश्यक परामर्श, सिपमुलक तालिम दिने संस्थाहरुको प्रर्दशनी र कार्यस्थलमा आधारित सीपमुलक तालिमबारे जानकारी तथा परामर्श दिईने छ।
नगर प्रमुख मिठाराम अधिकारीका अनुसार नेपाल सरकारको सुखी नेपाली समृद्ध नेपालको राष्ट्रिय परिकल्पना तथा ५ लाख युवालाई रोजगारी उपलब्ध गराउने उद्देश्यलाई यस मेलाले केहि न केहि संख्यामा सहयोग पुर्याउने अपेक्षा लिएको बताएका छन्।
उनले स्थानीय जनशक्तिलाई स्थानीय उद्योग, व्यवसाय, बैकिङ्ग, पर्यटन र होटल व्यावसाय क्षेत्रमा खपत गर्ने लक्ष्य समेत यस मेलाको राखेको जोड् दिएका छन्।
बेरोजगार युवा तथा दक्ष जनशक्तिलाई रोजगारी प्रदान गर्न तत्पर एवं सीप सिकाई स्वरोजगार बनाउन भुमिका खेल्ने तालिम प्रदायक संस्थाहरुलाई यो एक सुनौलो अवसर भएकोले माघ ११ र १२ गते मेला भ्रमण गरेर प्रत्यक्ष लाभ लिनुहुन सम्पुर्ण नगरवासीहरुलाई नगरप्रमुख मिठाराम अधिकारीले अपिल गरेका छन्।
दक्ष जनशक्तिको खोजिमा रहेका रोजगारदाताहरुले सोहि मेलामै रोजगारीको अवसर समेत प्रदान गर्ने विश्वास लिएको सामाजिक विकास समिति संयोजक शान्ता ढकाल पुडासैनीले बताएकी छन्।
मेलामा ४२ भन्दा बढि रोजगार प्रदायक र सिपमुलक तालिम तता परामर्श दिने संघ संस्थाहरुले स्टल राख्ने छन्। सम्पुर्ण स्टलहरुको व्यवस्थापन निःशुल्क गरिएको छ। साथै मेलामा प्रवेश नि:शुल्क गरिएको छ।
आर्थिक वर्ष २०७८/७९ मा बूढानीलकण्ठ नगरपालिकाले उपत्यकामै पहिलो पटक यस मेलाको सुरुवात गरेको थियो। उक्त मेलामा २५६० जनाले उपस्थिति दर्ता गराएका थिए । जसमध्ये १५७० जनाले प्रत्यक्ष परामर्श पाएको नगरपालिकाको अभिलेखमा उल्लेख छ।
यस्तै, यसको दोस्रो संस्करणमा १०४८० जनाले उपस्थिति दर्ता गराएका थिए। जसमध्य ५०४० जनाले प्रत्यक्ष परामर्श पाएको र १७ जनाले रोजगारी समेत प्राप्त गरेका थिए।
यस मेलामा करिब १५ हजार जनाले अवलोकन भ्रमण गर्ने आयोजकले अपेक्षा राखेको छ।