हेटौंडा सिमेन्टबाट ४० लाखको तार चोरी, उद्योगमा छैन सिसि क्यामेरा

HTV Khabar २ कार्तिक २०८१, शुक्रबार ०७:०९ मा प्रकाशित

काठमाडौं,  हेटौंडा सिमेन्ट उद्योगबाट ४० लाख रुपैयाँ मूल्य बराबरको तामाको तार चोरी भएको छ।

उद्योगका एक कर्मचारीका अनुसार सेक्युरिटी कम्पनीको लापरबाहीले उक्त मूल्य बराबरको तामाको तार चोरी भएको हो। ‘कम्तीमा ४० लाख बढीको तामाको तार चोरी भएको छ, तर आलोचना होला भनेर गुपचुप राख्न खोजिएको छ,’ ती कर्मचारीले भने।

हेटौंडा सिमेन्टका अध्यक्ष नरेन्द्र भण्डारीले तार चोरी भएको पुष्टि गरे। ‘क्रसरबाट उद्योगसम्म क्रंकिट ल्याउन प्रयोग गरिने तामाको तार चोरी भएको छ। हामीले प्रहरीमा निवदेन पनि दिइसकेका छौं। कसरी चोरी भयो, सेक्युरिटी गार्डलाई समेत छानबिनको दायरामा ल्याउँदैछौं,’ भण्डारीले  भने।

भण्डारीका अनुसार सिमेन्टको सुरक्षाको जिम्मेवारी बज्र सेक्युरिटीले लिएको छ। सिमेन्ट उद्योगमा सीसीटीभी नहुँदा कसले चोरेको भन्ने अनुमान गर्न नसकिएको उनले बताए।

मकवानपुर प्रहरीका अनुसार सिमेन्ट उद्योगमा चोरी भएको विषयमा आजै निवेदन आएकाले अनुसन्धान भइरहेको छ। ‘हामीले अनुसन्धान सुरु गरिसकेको छौं, केहि भन्न सक्ने अवस्थामा छैन। अनुसन्धान नभई अहिले नै चोरीको बारेमा बोल्न सक्ने अवस्था छैन,’ मकवानपुरका प्रहरी प्रवक्ता डीएसपी श्याम अर्यालले  भने।