आज र भोलि बालबालिकाहरुलाई भिटामिन ए र जुकाको औषधि खुवाईदै

HTV Khabar १७ कार्तिक २०८०, शुक्रबार ०८:४२ मा प्रकाशित

काठमाडौं, सरकारले आज र भोलि यस वर्षको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्दैछ।

स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाले दुई दिनसम्म चल्ने कार्यक्रममा ६ देखि ५९ महिनाका करिब ३२ लाख बालबालिकाहरुलाई भिटामिन ‘ए’ र १ देखि ५ वर्षसम्मका २९ लाख भन्दा बढी बालबालिकाहरुलाई जुकाको औषधि खुवाइने बताएको छ।

महाशाखाले यसपटक राष्ट्रिय भिटामिन ‘ए’कार्यक्रमका लागि ४० लाख क्याप्सुल भिटामिन ‘ए’र ३५ लाख ट्यावलेट जुकाको औषधि व्यवस्थापन गरिएको बताएको छ।

यसअघि सरकारले प्रत्येक वर्ष पहिलो चरण कात्तिक २ र ३ गते तथा दोस्रो चरण वैशाख ६ र ७ गते गरी बर्षको दुई पटक यो कार्यक्रम सञ्चालन गर्दै आएको थियो। यस पटक त्यो समयमा दशैं परेकोेले नियमित मिति भन्दा दुई साता पछि सरेको हो।


दुई चरणको यो कार्यक्रममा ९ करोड ५१ लाख खर्च हुने अनुमान गरिएको छ। जसमा ४० लाख क्याप्सुलका लागि १ करोड २० लाख र ३५ लाख ट्याब्लेटका लागि १ करोड ३१ लाख २५ हजार खर्च हुनेछ।

साथै महिला स्वास्थ्य स्वयम् सेविका परिचालन खर्च ४ करोड १६ लाख र स्वास्थ्यकर्मी परिचालनका लागि ३ करोड खर्च हुने अनुमान गरिएको छ।