कैलालीबाट भागेका २२६ कैदीबन्दी कारागार फर्किए

HTV Khabar ३१ भाद्र २०८२, बुधवार ०३:४९ मा प्रकाशित

काठमाडौं, जिल्ला कारागार कैलालीबाट भागेका २२६ जना कैदीबन्दी कारागार फर्किएका छन्। गत भदौ २४ गते जेनजी पुस्ताको प्रदर्शनका क्रममा कारगारबाट भागेका कैदीबन्दी फर्किएका हुन्।

हालसम्म २७ महिला र १९९ पुरुष कैदीबन्दी कारागार फर्किएका जिल्ला कारागार कार्यालयका प्रमुख चिरञ्जीवी सापकोटाले जानकारी दिए।

उनले भने- ‘कारागार व्यवस्थापन विभागले पनि कैदीबन्दीलाई कारागार फर्कन आह्वान गरेको छ। हामीले पनि सूचना जारी गरेका छौँ। प्रहरीले पनि खोजीकार्य जारी राखेको छ। छिट्टै सबै कैदीबन्दी फर्किने विश्वास छ।’

कैलाली कारागारमा ५८ महिलासहित ६६७ जना कैदीबन्दी रहेका मध्ये प्रदर्शनका क्रममा ६६६ कैदीबन्दी भागेका थिए। अझै ४४१ जना कैदीबन्दी कारागार बाहिर रहेका प्रमुख सापकोटाले जानकारी दिए।