काठमाडौं, चीनका पूर्व प्रधानमन्त्री ली खछ्याङको ६८ वर्षको उमेरमा निधन भएको चिनियाँ सञ्चार माध्यमले बताएका छन्।
प्रधानमन्त्रीबाट हटेसँगै सांघाईमा बसिरहेका उनलाई विहिवार राति हृदयघात भएको बताइएको छ।
चिनियाँ सरकारी टेलिभिजन सीसीटीभीका अनुसार उनलाई स्थानीय समय अनुसार विहिवार मध्यरातमा हृदयघात भएको थियो।
यता चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले लीलाई अक्टुबर २६ को दिन अचानक हृदयाघात भएको र अक्टुबर २७ को दिन स्थानीय समयअनुसार राति १२ बजेर १० मिनेटमा निधन भएको जनाएको छ।
ली गत मार्च महिनामा मात्र प्रधानमन्त्रीको दोस्रो कार्यकाल पूरा गरेर बिदा भएका थिए। उनी चिनियाँ कम्युनिस्ट पार्टी ‘सीसीपी’को तल्लो तहबाट उठ्दै माथि पुग्ने नेताहरूमा गनिन्छन्।
राष्ट्रपति सी जिनफिङपछि सत्तारूढ कम्युनिस्ट पार्टी अफ चाइनाका दोस्रो वरियतामा रहेका ली पछिल्लो समय सांघाइमा बस्दै आएका थिए।
ली खछ्याङ सन् २०१३ मा चीनको प्रधानमन्त्री बनेका थिए। उनी चिनियाँ क्याबिनेटको स्टेट काउन्सिल प्रमुख थिए। २०१३ मा प्रधानमन्त्री बनेका ली करिब १० वर्षसम्म पदमा रहेका थिए।
उनलाई कुनै समय चीनको भावी राष्ट्रपतिका रुपमा समेत हेर्ने गरिएको थियो।
पेकिङ विश्वविद्यालयमा अध्ययन गरेका ली चीनको अर्थ नीतिका सुक्ष्म जानकार थिए।