लायन राजन लम्सालले गरे इन्टरनेसनल डाइरेक्टरमा उम्मेद्वारी घोषणा

सबिन पन्त 'पृथक' २८ पौष २०८१, आइतबार ०९:०५ मा प्रकाशित

काठमाडौं,  लायन्स क्लब इन्टरनेसनल फाउण्डेसन (एलसिआईएफ) का एरिया लिडर लायन राजन लम्सालले इन्टरनेसनल डाइरेक्टरमा उम्मेदवारी (इन्डोर्सी) घोषणा गरेका छन्।

यसअघि मल्टिपल डिष्ट्रिक्ट ३२५ को मल्टिपल काउन्सिल चियरपर्सन पद सम्हालिसकेका लम्सालले इन्टरनेसनल डाइरेक्टरका लागि डिष्ट्रिक्ट ३२५ आई नेपालमा उम्मेदवारी दर्ता गराएका हुन्।नोमिनेसन कमिटी चियरपर्सन तथा पिडिजी लायन रामबहादुर बसेललाई उम्मेदवारी फाईल हस्तान्तरण गरेका छन्।

डिष्ट्रिक्ट ३२५ आई नेपालको कन्भेन्सन यहि फागुन २४ गते पोखरामा हुँदैछ। कन्भेन्सनबाट इन्डोर्सी लिएपछि जेठमा हुने मल्टिपल कन्भेन्सनमा इन्टरनेसनल डाइरेक्टरमा उनले आफ्नो उम्मेदवारी प्रस्तुत गर्नेछन्।

लायन राजन लम्सालको संक्षिप्त परिचय 
स्याङ्जा जिल्लाको ज्याग्दी खोलामा २०२६ सालमा जन्मिएका लायन राजन लम्साल पिता पदमराज लम्साल र माता पुष्पा लम्सालका जेष्ठ सुपुत्र हुन्। हाल उनी काठमाडौं महानगरपालिका वडा नं २६, सामाखुशी टाउन प्लानिङमा बसोबास गर्छन्।

लायन्स क्लब मार्फत् समाजसेवामा समर्पित लम्साल नेपाली लायनवादको इतिहासमा विशिष्ट पहिचान निर्माण गर्न सफल लायन्स लिडर हुन्। गाउँको जनप्रिय माविबाट प्रारम्भिक शिक्षा हासिल गरेका उनले बुटवलस्थित बुटवल माविबाट २०४३ सालमा प्रवेशिका परीक्षा पास गरेका हुन्। लम्सालले काठमाडौंको पिपुल्स क्याम्पसबाट व्यवस्थापन संकायमा प्रविणता तह, शंकरदेव क्याम्पसबाट व्यवस्थापन विषयमा स्नातक तह उतिर्ण गरेका छन्। 

स्नातकसम्मको अध्ययन पछि आत्मनिर्भर बन्नुपर्छ भन्ने भावनाबाट प्रभावित लम्सालले चितवनमा रहेको आइल्याण्ड जंगल रिसोर्टको काठमाडौं स्थित मुख्य कार्यालयमा लेखापालको रुपमा जागिर शुरु गरे। त्यहाँ करिब १२ वर्षसम्म कार्य गरी फाइनान्स र प्रशासनिक अनुभव प्राप्त गरेपछि उनले ट्राभल एजेन्सी, होटेल व्यवसाय र म्यानपावर कम्पनीमा साझेदारी व्यवसाय सञ्चालन गरे।

कलेज, कन्सल्टेन्सी, विभिन्न बैंक तथा जलविद्युत कम्पनीहरुको प्रोमोटर, यातायातका साधनहरूको आयातकर्ता साथै अन्य थुप्रै निजि क्षेत्रको कम्पनीहरुमा सहभागी हुँदै हाल उनी शेयर ब्रोकर व्यवसायमा राम्रैसँग जमेका छन्। उनी सामाजिक संस्था सहयोगी हातहरु को संस्थापक अध्यक्ष समेत हुन्। 

लायन लम्सालको लायन्स यात्रा
सन् १९९७ मा लायन्स क्लब अफ सङ्खुवासभा खाँदबारीको सदस्यता लिएर लम्सालको लायनिज्म यात्रा सुरु भएको हो।

२७ वर्षको उमेरदेखि नै सामाजिक सेवाभावका कामहरूमा जोडिएका लम्सालले सन् २०१०–११ मा तत्कालिन डिष्ट्रिक्ट ३२५ बी को डिष्ट्रिक्ट गभर्नर, सन् २०११– १२ मा मल्टिपल काउन्सिल चियरपर्सन, सन् २०१२– १४ मा मल्टिपल डिष्ट्रिक्ट ३२५ को एसएफएमडी चेयरपर्सन, सन् २०१४– १७, २०१७–१९ मा मल्टिपल डिष्ट्रिक्ट ३२५ को जीएलटी को–अर्डिनेटर, सन् २०१७– १९ स्पेसियालीटी क्लब कन्ट्री को–अर्डिनेटर, सन् २०१९– २२ मा मल्टिपल डिष्ट्रिक्ट ३२५ को जीएमटी को–अर्डिनेटर हुँदै लायन वर्ष २०२२–२३, २०२३–२४ र २०२४–२५ मा एलसीआईएफ एरिया लिडरको रुपमा निरन्तर रुपमा लायन्समा सक्रिय नेतृत्व गरिरहेका छन्। 

उनी मात्र नभई लम्सालको सिंगो परिवार नै लायनवादको यात्रामा छ। लम्सालकी जीवन संगीनी लायन इन्दु लम्साल सन् २०१९–२० मा लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ बि वानको डिष्ट्रिक्ट गभर्नर भएकी थिइन्। उनले सन् २०१०–११ मा आफू डिष्ट्रिक्ट गभर्नर हुँदा ६५ वटा नयाँ क्लब स्थापना गरेर त्यसबेला विश्व लायनवादको इतिहासमा नै नयाँ रेकर्ड कायम गरेका थिए।
  
विदेश भ्रमण
समाजसेवामा समर्पित लायन राजन लम्सालले अमेरिका, फ्रान्स, सिंगापुर, जापान, हङकङ, मलेसिया, थाइलेण्ड, श्रीलंका, भारत, ट्युनिसिया, संयक्त अरब इमिरेटस्, चीन, मकाउ, दक्षिण कोरिया, अष्ट्रेलिया, लेवनान, इटली, जर्मनी, स्वीजरल्याण्ड, क्यानाडा र बंगलादेश लगायतका विभिन्न राष्ट्रको भ्रमण समेत गरेका छन्।