वीर अस्पतालको १३५औं बार्षिकोत्सव सम्पन्न

HTV Khabar १२ श्रावण २०८१, शनिबार ०५:३० मा प्रकाशित

काठमाडौं, नेपालकै सबैभन्दा पुरानो वीर अस्पतालको १३५औं स्थापना दिवस सम्पन्न भएको छ। शनिवार वीर अस्पतालमा विशेष समारोहकाबीच अस्पतालले आफ्नो स्थापना दिवस मनाएको हो।

विसं १९४७ साउन १२ गते १५ शैय्याबाट सुरु भएको यो अस्पतालमा अहिले ९६६ शैय्याको स्विकृति पाई सञ्चालनमा आएको छ।

उपचार सेवामा केन्द्रीय यो अस्पताल विसं २०५९ मा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) स्थापना पछि शैक्षिक कार्यक्रममा समेत केन्द्रीत रहेको थियो।

यसैबीच शनिवार बार्षिकोत्सव समारोहमा बोल्दै स्वास्थ्य मन्त्री प्रदीप पौडेलले वीर अस्पतालको सेवालाई अझ प्रभावकारी बनाउन जरुरी रहेको बताए।

‘म अहिले अलमलमा छु बाहिर सुन्दा वीर अस्पतालको सेवाको बारेमा नकारात्मक बढी टिप्पणीहरु सुनिने गरेको छ। तर यहाँ आइसक्दा यति धेरै कामहरु गरेको रहेछ। यसलाई अझ प्रभावकारी बनाउन के के गर्नुपर्छ म त्यसका लागि सधै तयार छु,’ सम्वोधनका क्रममा उनले भने।

मन्त्री पौडेलले अहिले पनि सिमित स्रोत साधनबाट सत प्रतिशत नतिजा ल्याउनु पर्ने बाध्यता भएको भन्दै वीरले पनि त्यसगतिमा कामगर्ने विश्वास आफूले लिएको बताए। उनले नयाँ पूर्वाधार, नया जनशक्ति उत्पादन गर्न केही समय लाग्ने र खर्च बढी लाग्ने भए पनि बनिसकेको पूर्वाधार र तयारी अवस्थामा रहेको जनशक्तिमा थप गर्न थोरै स्रोतबाट समेत सम्भव हुने भन्दै त्यसमा आफूले सहयोग गर्ने बताए।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा.आरपी विच्छाले वीर अस्पताललाई सहयोग गर्न आयोग सधै सकारात्मक रहेको बताए।

स्वास्थ्य सचिव डा.रोशन पोखरेलले वीर अस्पताललाई स्वास्थ्यमा आएको कुल बजेटको २.५ प्रतिशत रकम उपलव्ध भएको भन्दै अब नतिजा देखाउने गरी कामगर्न आग्रह गरे। उनले वीर अस्पताल स्वास्थ्य मन्त्रालयको दर्पण हो भन्दै यसलाई सुधार गर्नमा सबै लाग्नु पर्ने बताए।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का उपकुलपति प्रा.डा. भुपेन्द्रकुमार बस्नेतले वीरको ऐतिहासिक पृष्ठभूमी र यसमा आएको परिवर्तन दिइरहेको सेवाकाबारेमा जानकारी दिएका थिए। यस्तै न्याम्सका शिक्षाध्यक्ष डा.लोचन कार्कीले न्याम्स र वीर अस्पतालको सम्वन्धका बारेमा बताएका थिए।

वीर अस्पतालका निर्देशक डा.सन्तोष पौडेलले अस्पतालको इतिहास, सेवा प्रवाहको विवरण, भावि योजनाका बारेमा विस्तृत रुपमा जानकारी गराएका थिए।


कार्यक्रममा विभिन्न बर्षभरी उत्कृष्ठ सेवा दिएका चिकित्सक, नर्स, प्यारामेडिक्स, अस्पतालका विभाग तथा बार्षिकउत्सवका अवसरमा गरिएका प्रतियोगितामा विजयी टोलीहरुलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको थियो।