इजरायलमा हमला गरेकोप्रति इरानी संसदमा खुशीयाली

HTV Khabar ३ वैशाख २०८१, सोमबार ०८:२० मा प्रकाशित

काठमाडौं, इजरायलमाथि भएको आक्रमणप्रति इरानी संसदमा उत्सव मनाइएको छ। इरानले आईतवार बिहानै ड्रोन प्रयोग गरेर इजरायलमा हवाई आक्रमण गरेको थियो।

इजरायलमाथि आक्रमणको खुसियालीमा इरानी जनताले देशैभर उत्सव मनाएका भिडियो सार्वजनिक भएका छन्।

सिरियाको राजधानी दमास्कसमा रहेको इरानी दूतावासमा भएको हमलापछि इरानले इजरायलमा ३०० बढी ड्रोन र मिसाइल प्रयोग गरी हवाई हमला गरेको थियो। यसपछि दुई देशबीच सशस्त्र द्वन्द्वको सम्भावना थप बढेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

इरानी सञ्चारमाध्यमका अनुसार संसदका सभामुख (मजलिस) ले इजरायल वा उसका समर्थकहरूले कुनै किसिमको आक्रमण वा अन्य किसिमको दुस्साहस गरे त्यसको उचित जवाफ दिइने बताएका छन्।

इरानका चीफ अफ स्टाफ मेजर जनरल बगेरीले यो अपरेशन पूर्ण रुपमा सफल भएको र इरानले यसलाई अगाडि बढाउन नचाहेको पनि दाबी गरेका छन्। उनले थप हमला नगर्न र गरेमा परिणाम भोग्न इजरायललाई पनि कडा चेतावनी दिएका छन्।