काठमाडौं, कारागारबाट भागेका १ जना कैदीको शुक्रवार राति हत्या भएको छ। चितवनको कालिका नगरपालिका–४ पदमपुर घर भएका २८ वर्षीय नारायण कुमालको हत्या भएको हो।
कुमालको पूर्वी नवलपरासीस्थित गैँडाकोटमा हत्या भएको प्रहरीले जनाएको छ। कुमाल मकवानपुरको भिमफेदी कारागारमा कैद सजाय भुक्तान गरिरहेका थिए।
जेनजी आन्दोलनको मौका छोपेर उनी भदौ २४ गते फरार भएका थिए। कारागारबाट भागेका कुमालको गैँडाकोट नगरपालिकास्थित इँट्टा भट्टानजिकै करिब ८ जनाको समूहले धारिलो हतियार प्रहार गरेर हत्या गरेको पूर्वी नवलपरासीका एसपी युवराज खड्काले जानकारी दिए।
खड्काका अनुसार कुमालको हत्या आरोपमा ५ जनालाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान अघि बढाइएको छ। जबरजस्ती करणी (बलात्कार) मुद्दामा उनलाई अदालतले कसुरदार ठहर गर्दै १० वर्ष कैद र ३५ हजार जरिबाना हुने फैसला सुनाएको थियो।
अदालतको फैसलापछि कैद सजाय भुक्तान गरिरहेका उनी भदौ २४ गते अन्य कैदीबन्दीसँगै भागेका हुन्। उनलाई बलात्कारमा संलग्न भएको आरोपमा प्रहरीले २०७४ साउन ३ गते पक्राउ गरेको थियो।