काठमाडौं, आजदेखि अमेरिकामा आजदेखि १२ देशका नागरिकहरूलाई यात्रामा पूर्ण प्रतिबन्ध लागू हुँदैछ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जुन ४ मा जारी गरेको आदेश आज जुन ९ देखि कार्यान्वयनमा आउन लागेको हो।
यसअघि घोषणा गरिएको १२ देशबाहेक थप ७ देशका नागरिकहरूमाथि आंशिक यात्रा प्रतिबन्ध पनि लागू हुनेछ। यो रोक आप्रवासन र गैर-आप्रवासन (नन-इमिग्रेशन) दुवै प्रकारका भिसामा लागू हुनेछ।
राष्ट्रपति ट्रम्पले घोषणा गरेको नयाँ यात्रा प्रतिबन्धअन्तर्गत अफगानिस्तान, म्यानमार (बर्मा), चाड, कंगो गणराज्य, इक्वेटोरियल गिनी, इरिट्रिया, हाइटी, इरान, लिबिया, सोमालिया, सुडान र यमन रहेका छन्। त्यस्तै, आंशिक प्रतिबन्ध लागेका देशहरुमा बुरुन्डी, क्युबा, लाओस, सिएरा लियोन, टोगो, तुर्कमेनिस्तान र भेनेजुएला रहेका छन्।
ट्रम्पले अमेरिकी नागरिकहरूको सुरक्षा र जीवनको रक्षा गर्नुपर्ने आवश्यकता औंल्याउँदै यो निर्णय गर्नुपरेको बताएका थिए। ‘अमेरिका यस्तो विदेशीबाट सुरक्षित रहनुपर्छ, जो आतंकवादी आक्रमण गर्न, राष्ट्रिय सुरक्षामा क्षति पुर्याउन, घृणा फैलाउन वा आप्रवासन कानूनको दुरुपयोग गर्न खोज्छन्,’ उनले भनेका थिए।
अमेरिकी विदेश मन्त्रालयअनुसार, पूर्ण प्रतिबन्ध लागू भएका देशका अधिकांश नागरिकहरूको अमेरिका प्रवेश पूर्ण रूपमा निषेध हुन्छ। यसमा पर्यटक भिसा, विद्यार्थी भिसा, काम गर्ने भिसा र आप्रवासन भिसा लिनेहरू सबै समावेश हुन्छन्।
आंशिक प्रतिबन्ध लागू भएका देशका नागरिकहरूलाई केही विशेष प्रकारका भिसा वा प्रवेशमा मात्र रोक लगाइन्छ । जस्तै, इमिग्रेशन भिसा नदिइए पनि पर्यटक भिसा प्राप्त गर्न सकिन्छ । विद्यार्थीलाई अनुमति दिइन्छ, तर वर्क पर्मिटसहितको भिसामा रोक लाग्न सक्छ।
ट्रम्पले जुन ४ मा विदेशका नागरिकहरूलाई भिसा जारी गर्दा सावधानी अपनाउन भनका थिए। उनले भनेका थिए, ‘यस्ता व्यक्तिहरू अमेरिका नआऊन्, जसले अमेरिकी नागरिक वा राष्ट्रिय हितमा क्षति पुर्याउन सक्छन्।’
उनका अनुसार, इमिग्रेशन भिसा लिनेहरू स्थायी बासिन्दा बन्ने भएकाले उनीहरूको जाँच कडा र आवश्यक हुन्छ । एकपटक प्रवेश पाइसकेपछि उनीहरूलाई निष्कासन गर्नु गाह्रो हुन्छ।
त्यस्तै नन-इमिग्रेशन भिसा लिनेहरूमा जाँच कम हुन्छ, त्यसैले जुन देशमा परिचय र जानकारी आदानप्रदानको पर्याप्त व्यवस्था छैन, त्यहाँबाट आउनेहरूलाई रोक्नु आवश्यक हुने उनको तर्क थियो।
ट्रम्पले आफ्नो पहिलो कार्यकाल सन् २०१७ मा यात्रा प्रतिबन्ध (ट्राभल ब्यान) लागू गरेका थिए, जसलाई धेरैले ‘मुस्लिम ब्यान’ पनि भनेका थिए। यसमा धेरै मुस्लिम-बहुल देशहरू समावेश थिए।