दशैंको टीकाको उत्तम साइत कस्तो छ ?

HTV Khabar ५ अशोज २०८१, शनिबार ०७:३६ मा प्रकाशित

काठमाडौं, यस वर्षको दशैंको टीकाको उत्तम साइत असोज २६ गते बिहान ११ः३६ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।

२०८१ सालको दशैं असोज १७ गतेदेखि सुरु हुन्छ। असोज १७ गते घटस्थापना हो। बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज जारी गरेको सूचनामा उल्लेख छ।

असोज १८ गते झण्डा फेर्ने साइत छ । यस दिन बिहान ९ बजेर १४ मिनेटमा पश्चिम फर्किएर झण्डा फेर्नुपर्ने समितिले जनाएको छ।

असोज २२ गते पचलीभैरव यात्रा र २४ गते फूलपाती छ। फूलपाती भित्राउने शुभसाइत बिहान ७ बजेर ११ मिनेटमा छ। स्थिरासन बिहान ८ बजेर ४३ मिनेटमा छ। यसै दिनलाई तुलजाभवानी यात्रा पनि भनिन्छ।

असोज २४ गते फूलपातीको दिनदेखि सरकारी कार्यालयहरुमा दशैंको सार्वजनिक बिदा सुरु हुने भएकाले दशैंको चहलपहल पनि ह्वात्तै बढ्ने गर्दछ। असोज २५ गते महाअष्टमी, कालरात्रि र महानवमी एकै दिन परेको छ।

यस्तै असोज २६ गते दशैंको मुख्य दिन टीका हो। यस दिन बिहान ८ बजेर ३३ मिनेटमा देवी विसर्जनको साइत छ। देवी विसर्जन गरिसकेपछि मान्यजनबाट टीका जमरा ग्रहण गरिन्छ। टीका लगाउने उत्तम साइत ११ बजेर ३६ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा.श्रीकृष्ण अधिकारीले जानकारी दिए।

सो दिन टीका लगाइमाग्ने व्यक्ति पूर्व फर्किनुपर्ने छ। असोज ३० गते बुधबार कोजाग्रत पूर्णिमा छ। कोजाग्रत पूर्णिमादेखि दशैंको पनि सकिन्छ।