मध्यरातमा पक्राउ परेका दुर्गा प्रसाई काठमाडौँ प्रहरीको हिरासतमा

HTV Khabar २ मंगशिर २०८२, मङ्गलबार ११:३६ मा प्रकाशित

काठमाडौं, मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले प्रसाईंलाई गएराति पक्राउ गरेको हो।

भक्तपुरस्थित उनकै निवासबाट प्रसाईंलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। सुरक्षा व्यवस्थालाई भड्काउने अभिव्यक्ति दिएपछि गएराति १० बजेतिर पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। उनी परिसरकै हिरासतमा छन्।

उनीमाथि हिंसा भड्किने अराजक गतिविधि गर्ने अभिव्यक्ति दिएको आरोप छ। हिजो दिउँसो मात्र प्रसाईंले सिहदरबार, सर्वोच्च अदालतमा कसरी आगो लाग्यो ? ७५ जनाको ज्यान कसरी गयो ? मल्ल होटल अगाडि गाडीभित्र बसेर क(कसको कुरा भएर प्रधानमन्त्री चुनियो ? बानेश्वरको कुन घरको छतमा बसेर जेनजी आन्दोलनको अप्रेशन गरिएको थियो ? भनेर विशेष भिडियो सार्वजनिक गरेका थिए। उनले मंसिर ७ गतेबाट आन्दोलनको तयारी गरेका थिए।

प्रसाईंका समर्थकले मङ्गलवार बिहानदेखि पक्राउको विरोधमा प्रदर्शन गर्नसक्ने अनुमान गर्दै प्रहरीले सुरक्षा सतर्कता बढाएको छ। यसअघि २०८१ चैत १५ को हिंसात्मक आन्दोलनपछि पक्राउ परेका प्रसाईं अदालतको आदेशमा छुटेका थिए।