काठमाडौं, जनकपुर बिग मार्टमा राति आगलागी भएको छ। जनकपुर उपमहानगरपालिका-९ रामानन्द चोकमा रहेको मार्टमा राति ११ बजे अकस्मात् लागेको आगो आज बिहान नियन्त्रणमा आएको छ।जनकपुरधाम उपमहानगरपालिका लगायत आसपासको पालिकाको बारुणयन्त्र, प्रहरी, स्थानीयलगायतको सहयोगमा आगलागी नियन्त्रण भएको हो।
आगलागीबाट सम्पूर्ण सामान जलेर नष्ट भएको छ भने घरमा पनि क्षति पुगेको छ।सञ्चालक रामबाबु रायले राति ११ बजे मार्टभित्र अचानक आगो सल्केको थाहा पाएको बताए। मार्टको सामान साढे चार करोड, घरमा समेत क्षति पुगेकाले १० करोडभन्दा बढीको क्षति पुगेको सञ्चालक रायको दाबी छ। मार्टको दोस्रो तल्लमा बसिरहेका राय दम्पतीले भागेर ज्यान बचाएको बताएका छन्।