काठमाडौं, कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी काठमाडौं अवतरण भएका छन्। उनी मंगलवार अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन्।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले बताए अनुसार कतारका राजा विमानस्थलमा अवतरण भएको र उनलाई त्यहीँ सेनाको सलामीसहित कार्यक्रममा सम्मान गरिएको छ। कतारी राजालाई स्वागत गर्न राष्ट्रपति रामचन्द्र पौडेल विमानस्थलमा पुगेका हुन।
बङ्गलादेशको भ्रमणमा रहेका अमिर त्यहाँको कार्यक्रम सकेर काठमाडौं आएका हुन्। अमिरले आजै साँझ राष्ट्रपति रामचन्द्र पौडेलसँग उनको निवासमा भेटघाट गर्ने कार्यक्रम रहेको छ। परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रपति पौडेलसँग भेटघाट गरी अमिर शेख सोल्टी होटेल पुग्ने कार्यक्रम रहेको छ।
सोल्टी होटेलमा विभिन्न भेटघाट हुनुका राष्ट्रपति पौडेलले उनको सम्मान रात्रिभोजको आयोजना गरेका छन्। सो रात्रिभोजमा नेपालका मन्त्री, नेता, व्यापारीहरू पनि सहभागी हुने बताइएको छ।
बुधवार १०ः३० बजे प्रधानमन्त्री प्रचण्डसँग द्वारिका होटेलमा भेटघाटको कार्यक्रम तय भएको छ। त्यहाँ दुई पक्षीय वार्ता हुनुको साथै केही सम्झौता पत्रमा हस्ताक्षर हुने पनि बताइएको छ।
प्रधानमन्त्री प्रचण्डले अमिर शेखको नाममा त्यहाँ दिवा भोजको आयोजना गर्ने कार्यक्रम रहेको छ।
अमिर शेख बुधवार साढे दुई बजे फर्किने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।