भारतलाई हराउँदै अष्ट्रेलियाले जित्यो यू–१९ विश्वकपको उपाधि

HTV Khabar २९ माघ २०८०, सोमबार ११:३० मा प्रकाशित

काठमाडौं, भारतलाई ७९ रनले हराउँदै अष्ट्रेलियाले १४ वर्षपछि आईसीसी यू–१९ विश्वकपको उपाधि जितेको छ। यसअघि सन् १९८८, २००२, २०१० मा उपाधि जितेको अष्ट्रेलियाको यसपटकको उपाधि चौथो हो। २५४ रनको लक्ष्य पछ्याएको भारत ४३.५ ओभरमा १७४ रनमा अल आउट भयो।


अष्ट्रेलियाको उत्कृष्ट बलिङ आक्रमणसामु भारतका कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन्। ओपनर आदर्श सिंहले ७७ बलमा ४ चौका र १ छक्कासहित ४७ रन र मुसिर खान २२ रनमा आउट भए। मुरुगन अभिषेकले ४६ बलमा ५ चौका र १ छक्कासहित ४२, कप्तान उदय सहारन ८, सचिन दास र प्रियान्शु मोलियाले ९-९ रन बनाए।


अष्ट्रेलियाका माहली बियर्डम्यानले ७ ओभरमा २ मेडनसहित १५ रन खर्चेर ३ विकेट लिए। राफ म्याकमिलनले १० ओभरमा ४३ रन खर्चेर ३ विकेट लिए। कलुम विड्रलले २, चार्ल्स एन्डरसन र टम स्ट्रेकरले १-१ विकेट लिए।


दक्षिण अफ्रिकाको विलोमुर पार्कमा टस जितेर पहिला ब्याटिङ रोजेको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २५३ रन बनाएको थियो। अष्ट्रेलियाको जितमा हर्जास सिंहले ६४ बलमा ३ चौका र ३ छक्कासहित सर्वाधिक ५५ रनको योगदान दिए।


ओपनर ह्यारी डेक्सनले ५६ बलमा ३ चौका र १ छक्कासहित ४२ तथा कप्तान ह्युग वेबगेनले ६६ बलमा ५ चौकासहित ४८ रन बनाए। तल्लोक्रममा ओलिभर पीक ४३ बलमा २ चौका र १ छक्कासहित ४६ रनमा अविजित रहँदै महत्वपूर्ण ४६ रनमा नट आउट रहेका थिए।


भारतका तीव्र गतिका बलर राज लिम्बानीले १० ओभरमा ३८ रन खर्चेर ३ विकेट लिए। नमान तिवारीले २, सौम्य पाण्डे र मुसिर खानले १–१ विकेट लिए। भारतले सेमिफाइनलमा दक्षिण अफ्रिकालाई २ विकेट तथा अष्ट्रेलियाले पाकिस्तानलाई १ विकेटले हराउँदै फाइनलमा स्थान बनाएका थिए। नेपाल भने समूह चरण हुँदै सुपर सिक्सबाट बाहिरिएको थियो।