विद्यार्थीहरुलाई चौतर्फी ज्ञान् दिएर सिकाइ गर्दै आएको रिलायन्स इन्टरनेसनल एकेडेमीमा लोकतान्त्रिक पद्धतिमा आधारित प्रयोगात्मक विधिद्वारा विद्यालयको क्याप्टेन, भाइस-क्याप्टेन तथा हाउस क्याप्टेन, हाउस भाइस-क्याप्टेनको निर्वाचित गरिएको छ।
यही जेठ ५ गते शुक्रवारका दिन सम्पन्न भएको चुनावमा विजेताहरुको घोषणा २०८० साल जेठ ७ गते आईतवार भएको थियो।२०८० साल वैशाख २६ गते विद्यार्थीहरुको हाउस विभाजन भई चुनावी प्रक्रिया अघि बढेको थियो। निर्वाचित विद्यार्थीको शपथ ग्रहणसँगै सम्पूर्ण निर्वाचन प्रक्रिया पुरा भएको छ। चुनावी प्रक्रियामा कक्षा ४ देखि १० सम्मका विद्यार्थीहरूले मताधिकार प्रयोग गरेका थिए।
औपचारिक रुपमा निर्वाचन कमिटी गठन गरी सम्पन्न गरिएको चुनावी प्रक्रियामा उम्मेद्वारी दर्ता, प्रचारप्रसार, मौन अवधि, निवार्चन, नतिजा सार्वजनिकीकरण र शपथ ग्रहणको कार्यक्रम तय गरिएको थियो। निर्वाचन कार्यतालिकाअनुसार वैशाख २ गते उम्मेद्वारी दर्ता, ३ र ४ गते दिउँसो १ बजेसम्म प्रचारप्रसार र ४ गते दिउँसो १:०० बजेपछि मौन अवधि, ५ गते शुक्रवार निर्वाचन, ७ गते आईतवार मतपरिणाम सार्वजनिक र १० गते बुधवार बिहानको विद्यालय प्रार्थना समयमा विद्यालयका प्रधानाध्यापकद्वारा निर्वाचित विद्यार्थीलाई शपथ ग्रहण कार्यक्रम सभ्य र भव्य तरिकाले सम्पन्न गरिएको थियो।
रिलायन्स एजुकेसन नेटवर्कका अध्यक्ष तथा रिलायन्स कलेजका प्राचार्य, कुशल प्रशासक रविन्द्रजङ्ग थापा एवं बूढानीलकण्ठ नगरपालिका वडा नं. १० का वडाध्यक्ष नवराज भट्टराईको उपस्थिति रहेको विद्यार्थीहरुको शपथ ग्रहण कार्यक्रम अझ प्रभावकारी र विशेष बनेको थियो। सोहि क्रममा वडाध्यक्ष नवराज भट्टराईले आफू पनि निर्वाचनमा भाग लिई विजेता बनी वडाको विकासका लागि कार्य गरिरहेको बताउँदै विद्यार्थीहरुको सहभागी रहने यस्तो प्रकारको निर्वाचनले नेतृत्व क्षमता वृद्धि गराउनुका साथै आफ्नो भूमिका अझ जिम्मेवार हुने बताउँदै विजेता विद्यार्थीहरुलाई सामुहिक भावबाट विद्यालयको नाम राख्ने तर्फ अगाडि बढ्न शुभकामना दिएका थिए।
कुल ३० पदको लागि सम्पन्न निर्वाचनमा ७५६ विद्यार्थी सहभागी भएका थिए। २१ जना विद्यार्थी अनुपस्थित रहेको निर्वाचनमा कुल खसेको मतमध्ये ६४ मत बदर भएको थियो। चुनावी प्रक्रियामा मतदाताको रुपमा संस्थाका कार्यकारी अध्यक्ष, भगिनी संस्थाका प्रधानाचार्य, कलेजका सहायक प्रधानाध्यापक, कोअर्डिनेटर लगायतका उच्च अधिकारीको सहभागिताले विद्यार्थीमा थप उत्साह थपेको थियो।
सामाजिक विषयका शिक्षकहरूले प्रजातान्त्रिक अभ्यासमा हुने निर्वाचन प्रक्रिया, निर्वाचनको कार्यतालिका, मताधिकारको सही सदुपयोग, बदर मतबारे जानकारी, उम्मेरद्वारबिचको स्वच्छ प्रतिस्पर्धाका बारेमा विद्यार्थीहरूलाई प्रयोगात्मक रुपमै जानकारी दिइसकेको हुँदा सम्बन्धित पाठहरू सिकाउनका लागि धेरै सहज हुने धारणा व्यक्त गरेका थिए। आजका विद्यार्थी नै भोलिका देशका सक्षम नागरिक एवम् देश चलाउने व्यक्ति बन्ने हुँदा विद्यालयमा सम्पन्न भएको निर्वाचनले विद्यार्थीलगायत उनीहरूका परिवारलाई समेत मताधिकारको विशेष जानकारी दिने र निकट भविष्यमा हुने विभिन्न तहको निर्वाचनलाई अर्थपूर्ण र मर्यादित बनाउन सहयोग पुर्याउने अपेक्षासहित यसप्रकारको कार्यक्रम विद्यालयको शैक्षिक क्यालेन्डरमा नै उल्लेख गर्ने गरिएको जानकारी निर्वाचन कमिटीले गराएको थियो।