काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओली आज म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ स्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जाँदैछन्।
आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल आरोहणको ७५ वर्ष पूरा भएको अवसरमा आधार शिविरमा हुन लागेको कार्यक्रममा सहभागि हुन प्रधानमन्त्री ओली त्यहाँ जान लागेका हुन्। उनी मङ्गलवार बिहान नौ बजे हेलीकोप्टरमार्फत त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम छ।
आधार शिविरमा ओलीले अन्नपूर्ण प्रथम हिमाल आरोहणको ७५ औँ वार्षिकोत्सव तथा शालिक अनवरण गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ।
प्रधानमन्त्री ओलीसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री बद्रीप्रसाद पाण्डे, नेपालका लागि फ्रान्सका राजदूत भिर्जिनी कोर्ताभाल र उर्जा, जलस्रोत तथा सिँचाइ राज्य मन्त्री खमबहादुर गर्बुजा आधार शिविर जाने कार्यक्रम छ।