काठमाडौं, सर्वोच्च अदालतले नेपालगन्जका ‘गुन्डा नाइके’ रिगल भनिने योगराज ढकाललाई माफी दिनुको कारण माग गरेको छ। भारती मानन्धरको रिटमाथि सुनुवाइ गर्दै राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय एवं गृह मन्त्रालयलाई माफी दिनुको कारणसहित ७ दिनभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको हो।
सर्वोच्चका न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले अग्राधिकारसहित असोज २५ गतेका लागि पेसीसमेत तोकेको छ। संविधान दिवसका दिन बाँकेका ‘गुन्डा नाइके’ रिगललाई कैद मिनाह गरेको भन्दै पीडित चेतन मानन्धरकी श्रीमती भारतीले सर्वोच्चमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय एवं गृह मन्त्रालयविरुद्ध रिट दायर गरेकी थिइन्।
साथै शर्माको इजलासले पीडित परिवारको सुरक्षा व्यवस्था गर्नसमेत आदेश दिएको छ।संविधान दिवसका अवसरमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले रिगललाई सजाय माफी दिएका थिए। हत्यारालाई राष्ट्रपतिले माफी दिनु संविधानविपरीत भन्दै भारतीले सर्वोच्चमा रिट दायर गरेकी थिइन्।
रिगलले २०७२ असार २८ गते चेतनलाई नियन्त्रणमा लिएर सुर्खेत रोडस्थित एक होटेलमा खुँडा प्रहार गरी हत्या गरेका थिए। हत्या अभियोगमा बाँके जिल्ला अदालतका न्यायाधीश विष्णु सुवेदीको इजलासले २०७५ वैशाख ११ मा रिगललाई हत्याका मुख्य योजनाकारका रूपमा दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो।
संविधान दिवसका अवसरमा जेलबाट छुटेका रिगललाई सजाय मिनाहा खारेजी गर्नुपर्ने मागसहित भारती बुधवारदेखि माइतीघर मण्डलमा अनशन बसेकी छन्। उनको अनशन आज पनि जारी छ।