भियतनामकी उपराष्ट्रपति सुआन काठमाडौंमा

HTV Khabar ६ भाद्र २०८२, शनिबार ०४:३२ मा प्रकाशित

काठमाडौं,  समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो थि आन सुआन नेपालको तीनदिने औपचारिक भ्रमणका लागि आज काठमाडौं आइपुगेकी छन्। उपराष्ट्रपति रामसहायप्रसाद यादवको मैत्रीपूर्ण निमन्त्रणामा उनी नेपाल भ्रमणमा आएकी हुन्।

उपराष्ट्रपति सुआनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा र सस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले स्वागत गरे।

उनीसँग आजै परराष्ट्रमन्त्री डा. राणाले शिष्टाचार भेटवार्ता गर्ने मन्त्रालयले जनाएको छ। भ्रमणका क्रममा उपराष्ट्रपति यादव र उनका समकक्षी सुआनबीच भदौ ८ गते काठमाडौंमा प्रतिनिधिमण्डस्तरीय द्विपक्षीय वार्ता हुने मन्त्रालयले जनाएको छ।

उपराष्ट्रपति सुआनले भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ। उनी यही भदौ ९ गतेसम्म नेपालको भ्रमण गर्नेछिन् ।