काठमाडौं, नेपाल बार एसोसिएसनले न्यायपरिषदको सदस्यमा दामोदर खड्काको नाम सिफारिस गरेको छ। शनिवार बसेको कार्यसमितिको बैठकले खड्काको नाम सिफारिस गरेको, महासचिव अञ्जिता खनालले जानकारी दिइन्। खड्का बरिष्ठ अधिवक्ता हुन्।
उनका अनुसार, आईतवार नै बारले सिफारिससम्बन्धी विवरण खुलाइएको चिठी न्यायपरिषदमा पठाउनेछ। अनि न्यायपरिषदले बारको सिफारिस सहितको पत्र संसदीय सुनुवाइ समितिमा पठाउनेछ। न्यायपरिषदमा प्रधानन्यायाधीश, कानूनमन्त्री, सर्वोच्च अदालतका बरिष्ठतम न्यायाधीशका साथै थप दुई जना सदस्यहरु नियुक्त हुन्छन्।
ती दुईमध्ये एकजनाको नाम प्रधानमन्त्रीले सिफारिस गर्ने र अर्कोको नाम नेपाल बार एसोसिएसनले सिफारिस गर्ने संवैधानिक व्यवस्था छ। बारबाट सिफारिस भएका सदस्य रामप्रसाद श्रेष्ठले अवकाश पाएपछि एउटा सदस्य पद रिक्त थियो। संसदीय सुनुवाइबाट अनुमोदन भएपछि मात्रै सिफारिस भएका व्यक्तिको नियुक्ती हुन्छ। यी दुई सदस्यको पदावधि चार वर्षको हुन्छ।