काठमाडौं, सुनको अवैध तस्करी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले काम नसकिएको भन्दै थप १५ दिन समय मागेको छ।
आयोगका अध्यक्ष डिल्लीराज आचार्यले प्रतिवेदन लेखनलाई अन्तिम रूप दिन अझै समय लाग्ने भन्दै १५ दिन म्याद थप गर्न सिफारिस गरेका हुन्।
सरकारले गत असोज १५ गते आचार्यको अध्यक्षतामा आयोग गठन गर्ने निर्णय गरेको थियो। जसअनुसार प्रारम्भमा ३ महिनाको कार्यावधि प्राप्त गरेकोमा २ महिना अवधि थप भइसकेको छ। आयोगका अध्यक्ष आचार्यले १५ फागुनसम्म प्रतिवेदन प्रस्तुत गर्न केही समय नपुग हुने बताएका छन्।
त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट गत साउनमा ६० किलो भन्दा बढी सुन तस्करी भएको पाइएपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उच्चस्तरीय छानबिनको माग गर्दै लगातार संसद अवरोध गरेको थियो।
त्यसपछि प्रमुख राजनीतिक दलहरुबीच भएको सहमति अनुसार सरकारले १५ असोजमा पूर्वन्यायाधीश डिल्लीराज आचार्यको अध्यक्षतामा जाँचबुझ आयोग गठन गरेको थियो। आयोगको सदस्यमा किशोरजंग कार्की, प्रेमराज जोशी र सहकुल थापा रहेका छन्।
अबको अवधिमा आयोग प्राप्त प्रमाणहरूको अध्ययन, विश्लेषण र प्रतिवेदन तयारीमा रहने हुँदा यो अवधिलाई आयोगको मौन अवधिका रूपमा बुझ्नुपर्ने आचार्यले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।