काठमाडौं, फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले शेयरधनीहरुलाई १४ प्रतिशत लाभांश वितरण गर्ने भएको छ। फरवार्ड माइक्रोफाइनान्सले आर्थिक वर्ष २०८०/८१ सम्मको वितरणयोग्य मुनाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ।
कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको बैठकले १३.३० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७० प्रतिशत नगद गरी कुल १४ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।
प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति पछि कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीहरूले पाउनेछन्। सुनसरीको दुहवीमा प्रधान कार्यालय रहेको संस्थाको हाल चुक्तापुँजी १ अर्ब ५ करोड ५५ लाख रूपैयाँ रहेको छ।
ग्रामिण अर्थतन्त्रलाई चलायमान गराउन र महिलालाई आत्मनिर्भरता तर्फ जोड्न फरवार्डले गाउँगाउँमा पुँजी पुर्याउँदै आएको छ। संस्था देशका ४० जिल्लाहरुमा सञ्चालित छ। संस्थामा करिब तीन लाख महिला सदस्यहरु रहेको संस्थाले जनाएको छ।