काठमाडौं, नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारी बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको छ।
केन्द्रीय समिति बैठक सुरु हुनुअघि बस्न लागेको पदाधिकारी बैठकमा पार्टीभित्र चर्को बनेको महाधिवेशन मिति र क्रियाशील सदस्यता विवाद प्रमुख एजेन्डा रहेका छन्।
बैठकमा महामन्त्रीद्वय गगन कुमार थापा र विश्वप्रकाश शर्माले मंसिर महिनाभित्रै महाधिवेशन सम्पन्न गर्ने कार्यतालिका प्रस्ताव गर्ने तयारी गरेका छन्। साथै, क्रियाशील सदस्यता सम्बन्धी विवाद समाधानका उपायबारे पनि विस्तृत छलफल हुने जनाइएको छ।
महामन्त्री थापाले विहीवारको बैठकमा उक्त प्रस्ताव राख्न खोजेपनि वातावरण नबनेपछि बिना सूचना अनुपस्थित भएका थिए। आजको बैठकमा उनले आफ्नो प्रस्ताव औपचारिक रूपमा प्रस्तुत गर्ने अपेक्षा गरिएको छ। कांग्रेसभित्र अहिले महाधिवेशनको मितिलाई लिएर गहिरो मतभेद देखिएको छ।
संस्थापन पक्षका नेता तथा सभापति शेरबहादुर देउवा निकट समूहले सरकारले घोषणा गरेको फागुन २१ गतेको निर्वाचनपछि मात्र महाधिवेशन गर्नुपर्ने धारणा राखेका छन्।
तर, संस्थापनइतर समूह भने मंसिरभित्रै महाधिवेशन सम्पन्न नभए विशेष महाधिवेशन बोलाउनुपर्ने अडानमा अडिग छ। यसैबीच, कांग्रेसको केन्द्रीय समिति बैठक आजै दिउँसो १ बजे बस्नेछ।