काठमाडौं, नेपाल सरकारले इजरायलबाट फर्किन चाहने नेपालीलाई स्वदेश ल्याउने तयारी गरेको छ। परराष्ट्र मन्त्रालयले स्वदेश फर्कन इच्छुक नेपाली नागरिकहरुको विवरण संकलनका लागि अनलाइन रजिस्ट्रेसनको तयारी भइरहेको जनाएको हो।
मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै त्यसका लागि मन्त्रालयसँगै तेल अभिभस्थित नेपाली राजदूतावास र इजरायल सरकारको समन्वयमा अनलाइन रजिस्ट्रेसनको तयारी भइरहेको जनाएको छ।‘इजरायलबाट स्वदेश फर्कन इच्छुक नेपाली नागरिकहरुको विवरण संकलनका लागि परराष्ट्र मन्त्रालय, तेल अभिभस्थित नेपाली राजदूतावास र इजरायल सरकारको समन्वयमा अनलाइन रजिस्ट्रेसनको तयारी भइरहेको छ।’ विज्ञप्तिमा भनिएको छ। यस्तै इजरायलको गाजापट्टी सँगको सिमानालगयात क्षेत्रमा भएको आक्रमणमा परी १० नेपालीले ज्यान गुमाएको जनाउँदै मन्त्रालयले मृतकहरुको शव पहिचान गर्ने कार्य अन्तिम चरणमा रहेको उल्लेख गरेको छ।
प्यालेस्टाइनी विद्रोही समूह हमासले गत शनिवारदेखि गरेको आक्रमणमा परी एक नेपाली सम्पर्कविहीन रहेको मन्त्रालयले जनाएको छ। साथै केही घाइते भएका पुष्टि भएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
‘मृतकहरुको शव पहिचान गरी यथाशक्य छिटो नेपाल ल्याउन एवं घाइतेहरुको उद्धार र उचित उपचारको प्रबन्ध गर्न इजरायल सरकार समक्ष अनुरोध भइसकेको छ।’ मन्त्रालयले भनेको छ।