काठमाडौं, अस्ट्रेलियाका अलराउन्डर क्यामरून ग्रीनले आईपीएल इतिहासमा नयाँ कीर्तिमान बनाएका छन्।
अबुधाबीमा जारी मिनी अक्सनमा उनलाई कोलकाता नाइट राइडर्सले २५ करोड २० लाख रूपैयाँमा भित्र्याएको छ। यससँगै ग्रीन आईपीएलका सबैभन्दा महंगा विदेशी खेलाडी बनेका छन्। उनले आफ्नै देशका मिचेल स्टार्कको कीर्तिमान तोडेका हुन्।
स्टार्कलाई केकेआरले २०२४ मा २४ करोड ७५ लाख रूपैयाँमा किनेको थियो। समग्रमा भने ऋषभ पन्त २७ करोड रूपैयाँसहित आईपीएल इतिहासकै सबैभन्दा महंगा खेलाडी हुन्। अक्सनमा युवा भारतीय खेलाडीहरूले पनि ठूलो मूल्य पाएका छन्।
२० वर्षीय प्रशान्त वीर र १९ वर्षीय कार्तिक शर्मालाई चेन्नई सुपर किङ्सले समान १४ करोड २० लाख रूपैयाँमा अनुबन्ध गरेको छ। ३० लाख रूपैयाँको बेस प्राइज रहेका यी दुई खेलाडी ४७ गुणा बढी मूल्यमा बिक्री भए।कोलकाताले श्रीलंकाका मथीशा पथिरानालाई १८ करोड रूपैयाँमा भित्र्यायो।
रवि विश्नोईलाई राजस्थान रोयल्सले ७ करोड २० लाख रूपैयाँमा किनेको छ । यस्तै, वेंकटेश अय्यर ७ करोड भारतीय रूपैयाँमा आरसीबीमा सामेल भए। अघिल्लो वर्षको मेगा अक्सनमा उनलाई केकेआरले २३ करोड ७५ लाख रूपैयाँमा किनेको थियो।
कोलकाताले क्यामरून ग्रीनलाई २५ करोड २० लाख रूपैयाँमा किने पनि उनले १८ करोड रूपैयाँमात्रै पाउनेछन्। बाँकी ७ करोड २० लाख रूपैयाँ बीसीसीआईको वेलफेयर फन्डमा जम्मा गरिनेछ।
अत्यधिक मागका कारण मूल्य अस्वाभाविक रूपमा नबढोस् भन्दै बीसीसीआईले गत वर्षदेखि नै मिनी अक्सनमा विदेशी खेलाडीका लागि १८ करोड रूपैयाँको अधिकतम सीमा तोकेको थियो।