काठमाडौं, डनल्ड ट्रम्पले आज अमेरिकाको ४७औँ राष्ट्रपतिको शपथ लिनुभएको छ।ट्रम्पलाई अमेरिकी प्रधानन्यायाधीश जोन रोबर्ट्सले शपथ गराउनु भएको हो।
माइनस ६ डिग्री तापक्रम रहेका कारण करिब ४० वर्षपछि कुनै पनि राष्ट्रपतिको शपथ समारोह इन्डोर अर्थात् सभा हलभित्र भएको हो। शपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले आफ्नो कार्यकालमा अमेरिकालाई अहिलेसम्मकै राम्रो अवस्थामा पुर्याउने दाबी गर्नुभयो।
सपथ समारोह क्यापिटल हिल्सको क्यापिटल रोटुन्डामा भएको थियो। यसअघि सन् १९८५ मा राष्ट्रपति रोनाल्ड रेगनले चिसोका कारण सभाहलभित्रै शपथ लिनुभएको थियो।
समारोहमा पूर्वराष्ट्रपति जो बाइडन, उपराष्ट्रपति कमला ह्यारिस, प्रथम महिला जिल, पूर्वराष्ट्रपति बिल क्लिन्टन र उहाँकी पत्नी हिलारी, पूर्वराष्ट्रपतिहरु जर्ज बुश र बाराक ओबामा पनि उपस्थित रहनुभएको थियो।
समारोहमा अर्जेन्टिनाका राष्ट्रपति जेभियर मेली, इटालीका प्रधानमन्त्री जर्जिया मेलोनी, इक्वेडरका राष्ट्रपति डेनियल नोबोआ, एल साल्भाडोरका राष्ट्रपति नायिब बुकेले, ब्राजिलका पूर्वराष्ट्रपति जैर बोल्सोनारो र पोल्याण्डका पूर्वप्रधानमन्त्री माटेउस मोराभिकको पनि सहभागीता रहेको थियो।