अन्डर-१९ एसिया कपमा आज नेपालले श्रीलंकाको सामना गर्दै

HTV Khabar १४ मंगशिर २०८१, शुक्रबार ११:०० मा प्रकाशित

काठमाडौं,  एसीसी पुरुष अन्डर-१९ एसिया कपको आफ्नो पहिलो खेलमा नेपालले आज श्रीलंकासँग प्रतिस्पर्धा गर्दै छ।

यूएईको शारजाह क्रिकेट स्टेडियममा खेल नेपाली समय अनुसार बिहान पौने ११ बजेबाट सुरू हुने छ। दुबै टोली जित हात पार्दै प्रतियोगितामा सुखद् सुरूआत गर्ने लक्ष्यमा हुने छन्।

प्रतियोगिताको अन्तिम तयारी स्वरूप हेमन्त धामीको कप्तानीमा नेपालले भारतको प्रादेशिक टोली कर्नाटकसँग पाँच खेलको एकदिवसीय अभ्यास सिरिज खेलेको थियो। सो सिरिज ३-२ ले जितेको नेपाली टोली उच्च मनोबलका साथ प्रतियोगितामा सहभागिता जनाउँदै छ।

टेस्ट राष्ट्र श्रीलंकाको अन्डर-१९ टोली १० मध्ये पाँच पटक फाइनलसम्म पुगे पनि उपाधि जित्न सकेको छैन। बलियो टोली श्रीलंकालाई हराउन नेपालले उत्कृष्ट प्रदर्शन गर्नु पर्नेछ।

हालसम्म आठ पटक एसिया कप खेलिसकेको नेपालको अन्डर-१९ टोली एक पटक मात्र २०१७ मा प्रतियोगिताको सेमिफाइनलसम्म पुगेको थियो। पहिलो पटक नेपालको उमेर समूहको टोलीलाई सम्हालिरहेका शक्ति गौचनको प्रशिक्षणबाट क्रिकेट प्रशंसकले ठूलो अपेक्षा राखेका छन्।

नेपाली युवा टोलीले हालसम्म श्रीलंका विरुद्ध जित हातपार्न सकेको छैन। सन् २०१६ एसिया कपमा नेपालले श्रीलंकालाई पराजित गर्ने राम्रो अवसर गुमाएको थियो। उक्त खेलमा नेपाल एक रनले पराजित भएको थियो।

यस बाहेक आज हुने अर्को खेलमा अफगानिस्तान र साविक विजेता बंगलादेशका युवा टोली प्रतिस्पर्धा गर्ने छन्। प्रतियोगितामा एसियाका आठ देश सहभागी छन्। नेपाल रहेको समूह ‘बी’मा श्रीलंका, बंगलादेश र अफगानिस्तान छन्। समूह ए मा भारत, पाकिस्तान, जापान र यूएई छन्।

नेपालले आफ्नो दोस्रो खेल १६ गते बंगलादेशसँग र तेस्रो खेल मंसिर १८ गते अफगानिस्तानसँग प्रतिस्पर्धा गर्ने छ। समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन्।