एसीसी एसिया कपको अभ्यास खेलमा नेपालको जित

HTV Khabar ३३ असार २०८१, मङ्गलबार ०६:३३ मा प्रकाशित

काठमाडौं, श्रीलंकामा हुने एसीसी एसिया कपको तयारी स्वरुप खेलेको अभ्यास खेलमा नेपाली टोलीले श्रीलंका वुमन्स डेभलप्मेन्टलाई २ रनले हराएको छ। आज भएको तेस्रो खेलमा नेपालले जित हात पारेको हो।

यसअघिका २ खेलमा भने यही टिमसँग नेपाल पराजित भएको थियो। पहिले ब्याटिङ गरेको नेपालले ११२ रन बनायो। जवाफी ब्याटिङमा उत्रिएको श्रीलंका वुमन्स डेभलप्मेन्ट टिमले ११० रन मात्रै बनाउन सक्यो। श्रीलंकाका लागि भी बालासूर्याले ४ चौकासहित सर्वाधिक ३८ रन बनाइन्। आर नेर्थान्जलीले २६ र सेवान्दनीले १० रन बनाए।

नेपालका लागि बलिङमा कविता जोशीले सर्वाधिक ३ विकेट लिइन्। कृतिका मरासिनीले २ र कविता कुँवरले १ विकेट लिए। त्यसअघि, ब्याटिङ गरेको नेपालका लागि रुबिना क्षेत्री बेलबासेले ३ छक्का र १ चौकासहित सर्वाधिक ३७ रन बनाइने। बिन्दु रावलले २०, सीता राना मगर १५, इन्दु बर्मा ११ र सम्झना खड्काले १० रन बनाइन्।

श्रीलंकाकी डि थेनाकोनेले सर्वाधिक २ विकेट लिइन्। आर सेवान्दी, एस इदुवारी र पी मेथासारीले समान १/१ विकेट लिए। श्रीलंकामा शुक्रबारदेखि देखि सुरु हुने एसिया कपमा नेपाल समूह ’ए’ मा रहेको छ। नेपाल रहेको समूहमा भारत, पाकिस्तान र युएई छन्।

नेपालले शुक्रवार युएईसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ। नेपालले दोस्रो खेल पाकिस्तानसँग साउन ६ र भारतसँग साउन ८ गते समुह चरणको अन्तिम खेल खेल्नेछ।