अनलाइन टिभी पत्रकार संघले सातै प्रदेशमा सम्मेलन आयोजना गर्ने

HTV Khabar ११ वैशाख २०८२, बिहीबार ०७:२३ मा प्रकाशित

काठमाडौं, इन्टरनेटमा भिडियो पत्रकारिता गरिरहेका सञ्चारकर्मीहरूको पहिलो र छाता संस्था 'अनलाइन टिभी पत्रकार संघ'ले सातै प्रदेशमा अनलाइन टिभीकर्मीहरूको सम्मेलन आयोजना गर्ने भएको छ।

संघका अध्यक्ष जीवन भण्डारीको अध्यक्षतामा बसेको संघको कार्यसमिति बैठकले साथै प्रदेशमा सम्मेलन गर्दै सङ्घको कार्यसमिति गठन गर्ने निर्णय गरेको हो।

बैठकले प्रदेश सम्मेलनको संयोजनका लागि कोशी प्रदेशमा इशान्त कुमार खतिवडा, मधेस प्रदेशमा नवराज गिरी, बागमती प्रदेशमा मिलनसिंह परियार, गण्डकी प्रदेशमा चन्दा क्षेत्री, लुम्बिनी प्रदेशमा रोहित लिम्बु, कर्णाली प्रदेशमा शोभराज बराल र सुदूरपश्चिम प्रदेशमा वीरेन्द्र धामीलाई संयोजक तोकिएको छ।

सम्मेलनमार्फत सम्बन्धित प्रदेशमा क्रियाशील अनलाइन टिभीकर्मीहरूलाई एकत्रित गर्ने, उनीहरूलाई व्यवस्थित र जिम्मेवार बनाउने, क्षमता विकास गर्ने लगायतका उद्देश्य राखिएको संघका अध्यक्ष भण्डारीले जानकारी दिए।

सम्मेलनको अवसरमा सम्बन्धित प्रदेशका सरोकारवालाहरूको आतिथ्यतामा ‘डिजिटल मिडिया र साइबर सुरक्षासम्बन्धी अभिमुखीकरण कार्यक्रम’ समेत आयोजना गरिने भएको छ। संयोजकहरूले संघका पुराना सदस्यहरू तथा प्रत्येक जिल्लाका अनलाइन टिभीकर्मीहरूसँग समन्वय गरी वैशाख २० गतेसम्म सम्मेलनको मिति र स्थान टुंग्याउने जिम्मेवारी पाएका छन्।

संघको विधानमा आवश्यक संशोधन गर्न अध्यक्ष भण्डारीको संयोजकत्वमा विधान संशोधन सुझाव समिति गठन गरिएको छ। समितिमा वरिष्ठ उपाध्यक्ष संजीव रेग्मी, उपाध्यक्ष कुशलभ केसी र महासचिव पवन फुयाल सदस्य छन्।

अनलाइन टिभी पत्रकारिता क्षेत्रमा उत्तरदायी र संगठित नेतृत्वको खाँचो महसुस भइरहेका बेला संघको प्रदेश सम्मेलन तथा अभिमुखीकरण कार्यक्रमले देशभरका अनलाइन टिभीकर्मीहरूलाई ऊर्जा दिने अपेक्षा गरिएको अध्यक्ष भण्डारीले बताए।