काठमाडौं, बूढानीलकण्ठ नगरपालिकाले ६५ जना कुष्ठरोग प्रभावित नागरिकहरुलाई कम्बल वितरण गरेको छ।
जनस्वास्थ्य महाशाखाको आयोजनामा ७२औं कुष्ठरोग दिवसको अवसरमा नगर प्रमुख मिठाराम अधिकारीको अध्यक्षतामा स्नेहमिलन तथा अभिमुखीकरण कार्यक्रम गरेर उक्त कम्बल वितरण गरिएको हो।
बूढानीलकण्ठ नगरपालिकाभित्र सञ्चालन भएका रिड नेपाल, न्यू सेडल राष्ट्रिय कुष्ठ प्रभावित कल्याण संघलगायतका संस्थामा आश्रय लिइरहेका ६५ जना कुष्ठरोग प्रभावितहरुलाई नगर प्रमुख मिठाराम अधिकारी, उपप्रमुख अनिता लामा, सामाजिक विकास संयोजक शान्ता ढकाल पुडासैनी, प्रमुख प्रशासकीय अधिकृत तुलसीराम अर्याल, वरिष्ठ जनस्वास्थ्य अधिकृत कुमार प्रसाद दाहाल, जनस्वास्थ्य अधिकृत प्रतिमा खरेल, उपमा दाहाल तथा संयुक्त रूपमा यातायात खर्च बापत रु.४०० नगदसहित कम्बल वितरण गरेका थिए।
क्षयरोग कार्यक्रम संयोजक प्रतिभा रेग्मीले सञ्चालन गरेको कार्यक्रममा उपस्थित भइ कम्बल र नगद प्राप्त गर्ने कुष्ठरोग प्रभावित नागरिकहरुलाई खाजाको पनि राम्रो व्यवस्थापन गरिएको थियो।
कम्बल वितरण पश्चात् कार्यक्रममा बोल्दै उपप्रमुख अनिता लामाले रोग लागेपनि नलागेपनि एकदिन मृत्युवरण गर्नुपर्ने हुँदा मलाई यस्तो रोग लागेको छ भनेर चिन्ता लिनु नहुने बताइन्। आत्मविश्वासले मृत्युलाई पनि जित्न सकिन्छ भन्दै रोग प्रभावितहरुले गरेका सीपमूलक कार्यबाट आफूलाई खुशी लागेको बताइन्।
कुष्ठरोग प्रभावितहरुले आफ्नो सीपबाट निर्माण गरेका समानहरुको बजारीकरण गरि उनीहरुको जीवन सहज बनाउन नगरपालिका तयार रहेको पनि लामाले बताइन्। रोग प्रभावितहरुले आफ्नो स्वास्थ्यको ख्याल् गर्दै सफासुग्घर रहन पनि सुझाउँदै सीपमूलक काम गरेर आफू जस्तै अरुका निम्ति पनि प्रेरणादायी बन्न उपप्रमुख लामाले आग्रह गरिन्।
जनस्वास्थ्य महाशाखा प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत दाहालले कार्यक्रममा अभिमूखीकरण गर्दै कुष्ठरोग के हो? यो कसरी लाग्छ ? यसको रोगथाम कसरी गर्न सकिन्छ जस्ता अत्यन्तै महत्त्वपूर्ण जानकारी गराएका थिए।
रोग प्रभावितहरुले नगरपालिकाले कुष्ठरोगी प्रती देखाएको सदासयताको प्रशंसा गर्दै नि:शुल्क वीमाको माग गरेका थिए।