कांग्रेसले न्यौपानेलाई राज्यव्यवस्था समितिको उम्मेदवार बनाउने

HTV Khabar १० भाद्र २०८२, बुधवार ०७:२१ मा प्रकाशित

काठमाडौं,  नेपाली कांग्रेसले राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा ईश्वरी न्यौपानेलाई उम्मेदवार बनाउने भएको छ।

सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा मंगलवार बसेको नेपाली कांग्रेसको पदाधिकारी बैठकले राज्य व्यवस्था समितिको सभापतिमा न्यौपानेलाई उम्मेदवार बनाउने निर्णय गरेको हो। 

समितिका सभापतिबाट रामहरि खतिवडाले गत साउन २८ गते राजीनामा दिएपछि पद रिक्त छ। सभामुख देवराज घिमिरेले भोलिसम्म निर्वाचन गर्ने मिति सार्वजनिक गरेपछि कांग्रेसले उम्मेदवार टुंगो लगाएको हो।
 
निजामती सेवा विधेयकमा समावेश गरिएको कुलिङ अफ पिरियडको गडबडीबारे छानबिन गर्न गठित जीवन परियार नेतृत्वको समितिले खतिवडा र समितिका सचिव सुरजकुमार दुरालाईमुख्य नैतिक जिम्मेवार ठहराएपछि खतिवडाले राजीनामा दिनुभएको थियो।

उहाँको ठाउँमा कांग्रेसले न्यौपानेलाई पठाउने भएको हो। सभापति चयन गर्ने समितिमा भोलि निर्वाचन हुने छ।