काठमाडौं, चार देशीय महिला टी–ट्वेन्टी सिरिजमा नेपालले तेस्रो स्थान हासिल गरेको छ।
आज बिहान हङकङ क्रिकेट क्लबको मैदानमा जापानलाई ४५ रनले पराजित गर्दै जारी सिरिजमा नेपाल तेस्रो भएको हो। योसँगै नेपालले चार देशीय सिरिजमा सुखद अन्त्य गरेको छ।
नेपालले प्रस्तुत गरेको एक सय १६ रनको लक्ष्य पछ्याएको जापान निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ७० रनमा समेटियो। जापानका लागि अकारी निशिमुराले सर्वाधिक २९ रन जोडिन् भने हिनासे गोतोले १६ रन बनाइन्।
यस्तै अहिल्या चन्डलले ११ रन जोड्नुबाहेक अन्य ब्याटरले दोहोरो अंकको रन बनाउन सकेनन्। माइ यानागिदा शून्य रनमा आउट भइन् भने मेग ओगावाले ६ रन बनाइन्। नेपालका संगीता राई, इन्दु बर्मा, सीता रानामगर, खुशी डंगोल र सोनी पाख्रिनले एक–एक विकेट लिए।
यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर एक सय १५ रनको योगफल बनाएको थियो।
नेपालकी ओपनर पूजा महतोले उत्कृष्ट ब्याटिङ गर्दै सर्वाधिक ४३ रन जोडिन्। उनले ३ चौका प्रहार गरिन्। यस्तै रोमा थापाले २२ र रुबिना क्षेत्रीले २१ रन बनाए। कप्तान इन्दु बर्माले १२ रन जोड्नु बाहेक अरु ब्याटरले दोहोरो अंकको रन बनाउन सकेनन्। जापानकी अहिल्या चन्डल, एरिका तोगुची र आयुमी फुजिकावाले १–१ विकेट लिए।
यसअघि शनिबार भएको समूह चरणको अन्तिम खेलमा पनि नेपालले जापानलाई ६७ रनले पराजित गरेको थियो।
नेपाल र जापानसहित आयोजक हङकङ र तान्जानिया सहभागी भएको सिरिजको सुरुवातका दुवै खेलमा नेपाल पराजित भएको थियो। पहिलो खेलमा तान्जानियासँग २७ रनले पराजित नेपालले दोस्रो खेलमा आयोजक टोलीसँग ९ विकेटको हार ब्यहोरेको थियो। जापान समूह चरणका तीनवटै खेलमा पराजित भएको थियो।
आजै पौने १२ बजे सुरु हुने फाइनल खेलमा तान्जानिया र हङकङ खेल्नेछन्। शनिबार भएको समूह चरणको अन्तिम खेलमा पनि यी दुई टिमले खेलेका थिए। उक्त खेलमा हङकङ १० विकेटले विजयी भएको थियो।
महिला टी–२० सिरिजमा आयोजक हङकङसँगै नेपाल, तान्जानिया र जापान सहभागी छन्।