काठमाडौं, बौद्धस्थित पाँचतारे होटल ‘ह्यात रेजन्सी’ मा सञ्चालन रहेको ‘प्राइड इन्टरटेन्टमेन्ट रिक्रेसन सेन्टर’ नामक क्यासिनोबाट रकम लुटेको आरोपमा थप दुईजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा काभ्रेली भनिने 'कुले' समुह्का कुलध्वज लामा र राकेश लामा रहेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले उनीहरुलाई दुवैलाई शनिवार बौद्धबाट पक्राउ गरेको हो। पक्राउ परेका दुवै पटके अपराधी रहेको प्रहरीले जनाएको छ।
काठमाडौं परिसरका अनुसार कुलेविरुद्ध यसअघि नै ५ वटा र अर्का राकेशविरुद्ध ७ वटा मुद्दा यसअघि नै दर्ता भइसकेको छ।
रोशी गाउँपालिका-४ महादेवटार घर भएका कुलध्वज तरुण दलका केन्द्रीय सदस्य समेत हुन्। उनी भुम्लुका गाउँपालिका उपाध्यक्ष दावा लामाका निकट मानिन्छन्। पक्राउ परेका दुवै जनामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
जेनजी प्रदर्शनको क्रममा भदौ २४ मा हायात होटलमा सञ्चालित प्राइड इन्टरटेनमेन्ट प्रालीमा लुटपाट भएको थियो।
जेनजी आन्दोलनको मौकामा गुण्डागर्दी पृष्ठभूमिका खुकुरी बोकेर क्यासिनोमा प्रवेश गरेका ७/८ जनाको समूहले क्यासिनो लुटपाट गरेको थियो। होटल हायात रिजेन्सीले जेनजी प्रदर्शनमा भएको लुटपाट र आगजनीबारे अनुसन्धान गर्न प्रहरीमा जाहेरी दिएको थियो।जाहेरी पछि प्रहरीले उक्त विषयमा अनुसन्धान थालेको थियो।
क्यासिनोबाट १४ करोड नगद लुटपाट गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ। यसअघि पनि लुटपाटमा संलग्न तिन जना पक्राउ परेका थिए। पक्राउ परेका ४२ वर्षीय दावा सेट्टी र २९ वर्षीय रञ्जित खड्गी ‘रणे’ र दोर्जे शेर्पा अहिले प्रहरी हिरासतमा छन्।