बुद्ध एयरले थप्यो १८ औं एटीआर विमान

HTV Khabar १७ असार २०८१, आइतबार ०६:१६ मा प्रकाशित

काठमाडौं, निजी वायुसेवा कम्पनी बुद्ध एयरले १८औं एटीआर विमान भित्र्याएको छ। शुक्रवार काठमाडौं अवतरण गरेको नयाँ विमान ७२ सिट क्षमतायुक्त एटीआर ७२-५०० सिरिजको हो।

योसँगै एटीआर-७२ सिरिजको विमान संख्या बुद्धसँग १५ थान पुगेको छ। नयाँ विमान को आवश्यक कागजी प्रक्रिया पूरा गरी आगामी साउनबाट नियमित उडान सेवामा ल्याइने बुद्ध एयरले जनाएको छ।

बुद्धले नयाँ विमानको दर्ता नम्बर ९एन-एएनजेड´ पाएको छ। यो विमान फ्रान्सको टुलुसबाट ल्याइएको हो। अब बुद्धसँग ४७ सिट क्षमताका तीन थान एटीआर४२-३२० र १५ थान एटीआर ७२-५०० सिरिजका विमान भएका छन्।

हवाई उडान सहज र सरल बनाउने प्रतिबद्धता अनुरूप विमान थपिएको बुद्धका बजार निर्देशक रुपेश जोशीले बताए। ‘सहज भाडासँगै उडान संख्या उल्लेख्य वृद्धि भए अनुरूप यात्रुहरूले आफ्नो समय अनुकूल उडान गन्तव्य पुग्न सकुन् भनेर विमान थपेका हौं,’ जोशीले भने, `हामी उडान तालिकालाई बढिभन्दा बढी प्रभावकारिकाका साथ सञ्चालन गर्दै जाने छौं।´उनका अनुसार थपिएको नयाँ विमानबाट साउन १ देखि धनगढी तथा सुर्खेतमा थप एक उडान गर्ने योजना छ।

हाल धनगढी तथा सुर्खेतमा दैनिक दुई उडान भइरहेको छ। थपिएको विमानबाट अन्य गन्तव्यमा पनि उडान संख्या थप्ने योजना बुद्धको छ। थपिएको विमान नियमित मर्मत सम्भारमा पनि सहयोगी हुने कम्पनीको भनाइ छ। बुद्धले आन्तरिकतर्फ हाल दैनिक १५० भन्दा बढी उडान गरिरहेको छ।

अन्तर्राष्ट्रियतर्फ काठमाडौंबाट भारतको बनारस उडान गरिरहेको छ। यसैगरी पोखराबाट चितवन, भैरहवा तथा नेपालगञ्जका लागि अन्तर प्रदेश उडान पनि गरिरहेको छ।