रौतहटमा लुटपाट

HTV Khabar २९ कार्तिक २०८०, बुधवार ०८:०१ मा प्रकाशित
रौतहट,  रौतहटको चन्द्रपुर नगरपालिका–५ स्थित पूर्वटोलमा अज्ञात समूहले सोमबार बिहान लुटपाट गरेको छ। लुटेराको  आक्रमणमा परि घरधनीसहित २ घाइते भएका छन्।


चन्द्रपुर–५ स्थित सोनेलाल चौधरीको घरमा बिहान २ बजेको समयमा लुटपाट भएको हो।घटनामा संलग्न रहेको आरोपमा केहीलाई नियन्त्रणमा लिए पनि प्रहरीले सार्वजनिक गरेको छैन। केही समूहमा आएका व्यक्तिले लुटपाटको क्रममा चौधरीका श्रीमती कान्ती चौधरी र छोरी नीकम चौधरीमाथि आक्रमण गरि घाईते बनाएको हो।


जिल्ला प्रहरी प्रमुख एसपी महेन्द्र श्रेष्ठले घटनाको पुष्टी गर्दै संलग्नको खोजी भईरहेको बताए। ‘हामिले घटनामा संलग्न लुटेरा समूहको खोजतलास जारी राखेका छौं,‘उनले भने,‘अज्ञात समूहसँग हतियार थियो वा थिएन भन्ने खुलेको छैन। तर उनीहरुको आक्रमणमा परि दुईजना घाईते भएका छन्।’एसपी श्रेष्ठले लुटेरा समूहको चलखेल बढेको सुराकी पाएको भन्दै जिल्लामा गस्ती र निगरानी बढाउन निर्देशन दिँदै आएका थिए।


लुटेरा समुहले लक्ष्मीपूजाको लागी राखेको नगद १ लाख ४५ हजार, १४ तोला सुन, ५४ तोला चादी र २ वटा मोबाईल लुटेर लगेको पीडित चौधरीको भनाई छ। लुटेरा समुहको आक्रमणमा परि घाईतेको स्थानीय अस्पतालमा उपचार भईरहेको प्रहरीले जनायो। लुटेरा समूहले घरको गेटमा लगाएको ताल्चा फुटाएर एक्कासी आक्रमण गरेको पीडित परिवारले जनाएका छन्।