बूढानीलकण्ठमा साहित्यिक सांस्कृतिक महोत्सव हुँदै

सबिन पन्त 'पृथक' ९ फाल्गुन २०८०, बुधवार ११:०३ मा प्रकाशित

काठमाडौं, बूढानीलकण्ठ नगरपालिकाको आयोजनामा ‘बूढानीलकण्ठ सांस्कृतिक साहित्यिक,  महोत्सव २०८०’  हुन लागेको छ।


महोत्सव फाल्गुन ११ र १२ गते गरी दुई दिन हुने पत्रकार भेटघाट कार्यक्रममा महोत्सव संयोजक एवं नगर उपप्रमुख अनिता लामाले जानकारी दिएकी हुन्।


महोत्सवको पहिलो दिन फाल्गुन ११ गते शुक्रवारको बूढानीलकण्ठ नगरपालिका वडा नं.-१३ स्थित चुनिखेलमा आयोजना हुनेछ भने फाल्गुन १२ गते शनिवार दोस्रो दिन बूढानीलकण्ठ नगरपालिका वडा नं. ३ स्थित विश्व प्रसिद्ध तीर्थस्थल बूढानीलकण्ठ मन्दिर परिसरमा हुनेछ।


प्रस्तावित ढाँचा अनुरुप महोत्सवमा राष्ट्रिय कलाकारहरु, कवि, संस्कृतिविद्, विभिन्न विद्यालयका विद्यार्थीहरु, विभिन्न नगरपालिकाका प्रमुखहरुकाबीच सामाजिक, राजनीतिक, उद्योग, व्यवसाय, खेलकुद, स्वास्थ्य, पर्यटन, नाटक तथा रंगमञ्च लगायत सम्पूर्ण विधा तथा क्षेत्रहरुलाई समेट्दै छलफल, बहस तथा अन्तरक्रियाको कार्यक्रमहरु महोत्सवमा समेटिएका छन्।


महोत्सवमा विशेषगरी बूढानीलकण्ठ भित्रका स्थानीय साहित्यकार, कविहरुकाे लेख/रचना, नगरपालीका भित्र सञ्चालित विद्यालयबाट प्राप्त भएका विद्यार्थीहरुको कविताहरू, विद्यालयका किशोर किशोरीहरूबिचको अन्तर्क्रिया, यस नगरपालिका र सिमाना जोडिएका पालिकाका प्रमुख बिचको बहस हुनेछ।


त्यस्तै वडाका जनप्रतिनिधिहरुबिचको नगर विकास लगायतका गतिविधिहरु बारेमा कुराकानी, राष्ट्रिय साहित्य तथा कविहरुको प्रस्तुती, लगायत स्थानीय भाषा, संस्कृति तथा नगरपालिकाको विविध विशेषताका प्रस्तुतिहरु समेटिने छन्।