काठमाडौं, चितवनको भरतपुर महानगरपालिका–९ टिकौली जंगलमा एउटा ट्रक र दुईवटा बस आपसमा ठोक्किँदा ३३ जना घाइते भएका छन्। घाइतेमध्ये ८ जनाको अवस्था मध्यम खालको छ।
गएराति करिब पौने २ बजे इँट्टा लोड गरेर पार्किङ गरिराखेको ना ६ ख ८१३ नम्बरको ट्रकमा गौरबाट काठमाडौंतर्फ जाँदै गरेको बा. प्र. ०३०० ख ०१२३ नम्बरको डल्फिन यात्रुबाहक बस ठोक्किएको र सोही बसमा जनकपुरबाट काठमाडौं तर्फ जाँदै गरेको बा. प्र.०३०० ख ३९०२ नम्बरको रुद्राक्ष यात्रुबाहक बस समेत ठोक्किएर सडकमा पल्टिएको थियो।
घटना लगत्तै सशस्त्र प्रहरी बल, नेपाल नं. १७ गण आँपटारी चितवनबाट खटिएको टोलीले घाइतेहरुलाई उद्धार गरी उपचारका लागि अस्पताल पठाएको थियो। घाइतेहरुमध्ये चितवन मेडिकल कलेजमा १५ जना, नेशनल सिटी अस्पतालमा १३ जना र भरतपुर अस्पतालमा ५ जनाको उपचार भइरहेको छ।
क्रेनको सहायताले बसलाई सडक क्षेत्रबाट हटाएर आज बिहान करिब ३ बजेतिर सडक एकतर्फी खुलाइएको थियो। बा.प्र.०३–००१ख ३९०२ नम्बरको रुद्राक्ष बसका चालक धनुषा जिल्ला शहीद नगरपालिका–४ बस्ने ४३ वर्षीय कृष्ण मण्डललाई जिल्ला प्रहरी कार्यालय चितवनले नियन्त्रणमा लिएको छ।