लेबनानमा खटिएका नेपाली शान्ति सेना सुरक्षित छन् : प्रधानसेनापति सिग्देल

HTV Khabar ७ कार्तिक २०८१, बुधवार ०२:३६ मा प्रकाशित

काठमाडौं,  प्रधानसेनापति अशोकराज सिग्देलले संयुक्त राष्ट्रसंघ शान्ति मिसनका लागि लेबनानमा खटिएका नेपाली सेना सुरक्षित रहेको बताएका छन्।

नेपाली शान्ति सेना रहेकै क्षेत्रमा इजरायल र हिजबुल्लाहबीच द्वन्द्व चलिरहे पनि नेपाली सेना बंकरभित्र सुरक्षित रहेको उहाँको भनाइ छ। राष्ट्रसंघीय शान्ति मिसनअन्तर्गत लेबनानमा ८ सय ७७ र सिरियामा ४ सय ५२ जना छन्। तीमध्ये लेबनानमा रहेका सेना बढी जोखिममा रहेको प्रधानसेनापति सिग्देलले बताए।

द्वन्द्व चर्किएर सुरक्षा अवस्था गम्भीर भएपछि सबैभन्दा उच्च तेस्रो तहको सतर्कता अपनाइएको र जोखिम हुने अवस्थामा फिर्ता गर्न राष्ट्रसंघ र नेपाली सेना तयारी अवस्थामा रहेको पनि प्रधानसेनापति सिग्देलले जानकारी दिए।

लेबनानमा रहेका नेपाली शान्ति सेनासँग आफू निरन्तर सम्पर्कमा रहेको पनि उनले बताए। यसअघि शान्ति सेनाको क्याम्पमा ग्रिनेड विष्फोट हुँदा श्रीलंका र इण्डोनेसियाका सैनिक घाइते भएका थिए। तर हिजबुल्लाह र इजरायल दुवैले संयुक्त राष्ट्रसंघका शान्ति सेनालाई लक्षित नगरेको नेपाली सेनाले जनाएको छ।