काठमाडौं, क्यान्सर सचेतना महिनाको सन्दर्भ पारेर चितवन मेडिकल कलेजले महिलाहरुको नि:शुल्क क्यान्सर परीक्षण सुरु गरेको छ। आईतवारदेखि तीन दिनसम्म चल्ने परीक्षणमा क्यान्सर जोखिम उमेरका महिलाहरुको निशुल्क परीक्षण गर्ने अस्पतालका निर्देशक डा.दयाराम लम्सालले जानकारी दिए।
उनका अनुसार ३५ वर्षमाथिका महिला पत्रकार, महिला स्वास्थ्य स्वंयसेविका, स्वास्थ्य सेवामा कार्यरत महिला कर्मचारीहरुको क्यान्सर परीक्षण गरिनेछ। महिलाहरुमा पाठेघर र स्तनको क्यान्सरको जोखिम उच्च हुने भएकाले क्यान्सर स्क्रिनिङका रुपमा परीक्षण गर्न लागिएको हो। पछिल्लो समयमा पाठेघरको मुखको क्यान्सर भन्दा बढी स्तनको क्यान्सर देखिन थालेकोले जोखिम उमेर समूहका महिलाहरुलाई लक्षित गरिएको डा.लम्सालले बताए।
उनले रगतको जाँच, पाठेघरको मुखको भीआइए परीक्षण, तथा स्तनको भिडियो एक्सरे गरिने बताए। पाठेघरको मुखको ‘भीआइए’ पोजेटिभ आएकाहरुका लागि सर्भाइकल बायोप्सी परीक्षण गरिने डा.लम्सालले जानकारी दिए। समाजमा सचेतना फैलाउनका लागि यस्ता अभियान चलाइएको उनको भनाइ छ।