चर्को गर्मीले चितवन रत्ननगरका स्कुल बन्द, खोप अभियानसमेत रोकियो

HTV Khabar १४ जेठ २०८१, सोमबार ०३:१५ मा प्रकाशित

काठमाडौं,  गर्मी अत्यधिक बढेपछि चितवनको रत्ननगर नगरपालिकाले विद्यालयमा गर्मी बिदा दिएको छ।

अत्यधिक गर्मी र ‘लू’ का कारण बालबालिकाको सिकाइ क्रियाकलाप तथा स्वास्थ्यमा असर परेको भन्दै नगरपालिकाले नगरअन्तर्गतका सम्पूर्ण सामुदायिक र संस्थागत विद्यालय चार दिन बन्द गर्ने निर्णय गरेको छ।

नगर शिक्षा अधिकारी नारायणप्रसाद वाग्लेका अनुसार यही जेठ १४ देखि १८ गतेसम्म सम्पूर्ण विद्यालयमा बिदा दिइएको छ। जेठ १३ गतेको नगरपालिकास्तरीय निर्णयअनुसार बिदा दिइएको हो। चितवनको तापक्रम अहिले ३९ डिग्री सेल्सियससम्म पुगेको छ। अत्यधिक गर्मीले यस क्षेत्रको जनजीवन कष्टकर बनेको छ।
खोप अभियान स्थगित
अत्यधिक गर्मी बढेपछि रत्ननगर नगरपालिकाले आइपिभी खोप अभियानसमेत स्थगित गरेको छ।

नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वाग्लेले पालिकाका सबै वडामा रहेका सामुदायिक तथा संस्थागत विद्यालय र स्वास्थ्य संस्थामा जेठ १३ गतेदेखि १८ गतेसम्म सञ्चालन हुने तय भएको खोप कार्यक्रम गर्मीका कारण स्थगित गरिएको बताए।

अभियान जेठ २० गतेदेखि पुनः सञ्चालन हुनेछ।