काठमाडौं, शान्ति सुरक्षाको काममा तल्लीन रहिआएको कपन प्रहरीले एकपछि अर्को उत्कृष्ट कार्य गर्दै कपनबसीको मन जित्दै गएको देखिन्छ।
स्थानीयबासीलाई शान्ति सुरक्षाको प्रत्याभूति दिलाउँदै विभिन्न उल्लेखनीय कार्यहरू सम्पादन गर्दै आएको प्रहरी प्रभाग कपनले आज फेरि कसैको हराएको २३ लाख मूल्य बराबरको गहना फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ।
फागुन २६ गते रातको समयमा रामनगर पार्टी प्यालेसबाट खरीबोटसम्म जाने क्रममा एक महिलाले १२ तोलाको सुनको सुटु १ थान र ७० तोला चाँदि र १ तोला सुनले बनेको गेन्जेन गरि अन्दाजी २३ लाख बराबराको गहना हराएको भनी प्रहरी प्रभागमा निवेदन दिएकी थिइन्।
उक्त निवेदन प्राप्त भएपश्चात तदारुकताका साथ विशेष खोजतलास शुरु गरेको कपन प्रहरीले कोहीले मानिसले फेलापारी गहना राखेको जानकारी हुनासाथ अनुसन्धान गरी गहना हातपार्न सफल भयो।
प्रहरी प्रभाग कपनका प्रमुख प्रहरी निरीक्षक नवराज सापकोटाले आज फागुन २८ गते सोमवार सम्बन्धित गहना धनिलाई बोलाई रितपुर्वक उक्त फेला पारेको गहना हस्तान्तरण गरेकाछन्।
प्रहरी निरीक्षक सापकोटाले प्रत्येक टोल र घरहरूमा सम्भव भएसम्म सिसि क्यामरा जडान गर्न अनुरोध गरेकाछन्। सिसि क्यामराको मद्धतबाट समाजमा हुने चोरीडकैती, लुटपाट जस्ता जुनसुकै प्रकारका घटनाहरु नियन्त्रण गर्न तथा घटना घटेमा अपराधी पत्ता लगाउन सहज हुने एचटिभी खबरसंग कुराकानी गर्दै सापकोटाले बताए।
स्थानीय सरकारको पहलमा केही वर्ष अगाडी कपनका विभिन्न चोकहरुमा राखिएका सिसि क्यामराको मोनिटर प्रभाग प्रमुखको कार्यकक्षमा नै रहेको छ। तर त्यो मोनिटर भने चल्नसकेको छैन बन्द नै रहेकोे छ। वर्षाैं भयो कति प्रभाग प्रमुखहरु फेरिए सिसि क्यामरा मर्मत सुधारको लागि स्थानीय सरकारलाई गुहारेपनि जनप्रतिनिधिको कानमा बतास लागेन र ती सिसि क्यामराहरुको अवस्था जिर्ण भएर काम नलाग्ने भए। त्यसकै कारण प्रहरी प्रभाग कपनमा रहेको मोनिटर बन्द छ। जस्को औचित्य सकिएको छ।
यदि स्थानीय सरकारले चासो लिएर सिसि क्यामराको कनेक्सनहरु बेलैमा मर्मत गरिदिएको भए शान्ति सुरक्षा कायम गर्न प्रहरीलाई सहयोग पुग्ने थियो। स्थानीयबासी थप सुरक्षीत भएको महसुस गर्नसक्थे।
हुन त बूढानीलकण्ठ नगरपालिकाले नगरका विभिन्न चोकहरुमा सिसि क्यामरा जडान गर्न पाँच करोड विनियोजन गरि भर्खरै नेपाल प्रहरीलाई उपलब्ध गराईसकेको छ।
